
काठमाण्डौँ । रियो ओलम्पिकको ब्राजिलको रियो दि जेनेरियो शहरमा रहेको माराकाना रंगशालामा भव्यताका साथ उदघाटन भएको छ । रियो अन्तर्गत फुटबलका खेल दुई दिन अघिदेखि नै सुरु भएपनि विश्व खेलकुदको महाकुम्भ मेला ओलम्पिकको औपचारिक उदघाटन समारोह भने नेपाली समय अनुसार आज बिहान सुरु भएको हो ।
दक्षिण अमेरिकामा पहिलो पटक हुन लागेको रियो ओलम्पिकका खेल चार ठाउँमा हुनेछन् । डियोडोरु, बारा, कोपाकबाना र माराकाना रंगशालामा ओलम्पिकका खेल हुनेछन् । यस ओलम्पिकमा भाग लिएको शरणार्थी टिममा १० खेलाडी छन् ।
जसमा दक्षिणी सुडानका पाँच, सिरियाका दुई, कंगोका दुई तथा इथियोपियाका एक खेलाडी छन् । यो टिमले ओलम्पिक झण्डाअन्तर्गत भाग लिनेछ । यो ओलम्पिकमा एक सय १२ वर्ष पछि गल्फको पुनरागमन भएको छ ।
भन्नलाई यो ३१ औं ओलम्पियाड भनिएपनि २८ औं आयोजना हो । सन् १९१६, १९४० र १९४४ मा विश्व युद्धका कारण खेल हुन सकेको थिएन । पाँच सय ५४ जना खेलाडीसहित भाग लिएको अमेरिका सबै भन्दा ठूलो टिम हो ।
यो ओलम्पिकमा विश्वभरका १० हजार पाँच सय खेलाडी सहभागी हुँदैछन् । सन् २००० पछि जन्मिएका खेलाडीले यो ओलम्पिकबाट सहभागिता जनाउँदै छन् ।
नेपालकी १३ वर्षकी पौडी खेलाडी गौरिका सिंह रियो ओलम्पिकमा भाग लिने सबैभन्दा कम उमेरकी खेलाडी हुन् ।