नेपालगन्ज ।
निरन्तर चहर्याइरहन्छ उकुच पल्टेको घाउ। घरी थाक्छ घरी पाक्छ, निको हुने छाँटै छैन।
सीमा क्षेत्रमा भारतले ‘नियतवश’ सिर्जना गरेका यस्ता घाउले सीमा क्षेत्रका नेपाली बर्सेनि प्रताडित भइरहन्छन् ।
नदीपिच्छे बाँध बनाएर नेपाली भूमि डुबाउने ब्रिटिस सत्ताकालीन परियोजना निरन्तर अघि बढाइरहेको छ भारत, जसअनुसार दक्षिणी सीमामा मात्र डेढ दर्जन बाँध र तटबन्ध निर्माण भइसकेका छन्। यिनै बाँध र तटबन्ध नेपाली सीमा र तराईका लाखौं बासिन्दाको घरखेत, बस्ती, आवादी उठिबास बनाउने कारक बनिरहेका छन् । नागरिक दैनिकमा खबर छ ।
झन्डै २ हजार ५ सय बिघा जमिन नष्ट। ४ हजार बिघाको उर्वराशक्ति ह्रास। ६० हजार व्यक्ति डुबान तथा कटानबाट प्रभावित। करिब तीन दशकअघि सुरु यो विनाश शृंखलामा बर्सेनि अंक थपिँदो छ। राप्ती नदीकिनारमा अवस्थित बगौडा क्षेत्रमा विनाशलीला निम्त्याउने कारक हो– भारतद्वारा निर्मित लक्ष्मणपुर बाँध र त्यसको परिपूरक कलकलवा तटबन्ध।
‘भारतले आफ्नो भूमिको सुरक्षा र स्वार्थका लागि अन्तर्राष्ट्रिय कानुनविपरीत सीमानजिकै बाँध र तटबन्ध बनाउँदा नेपाली भूमि डुबिरहेको छ,’ लक्ष्मणपुर बाँधपीडित संघर्ष समिति अध्यक्ष जगदीशबहादुर सिंह भन्छन्, ‘हामी नेपाली भने टुलुटुलु हेरेर बसिरहेका छौं, सरकार पनि मौन छ।’
नेपाल डुबाउने बाँध बाँकेमा मात्र सीमित छैन। दक्षिणी सीमामा भारतले करिब डेढ दर्जन बाँध र तटबन्ध बनाएको छ। भारतले ब्रिटिसकालीन समयदेखि नै ‘बृहत् नदी जडान आयोजना’ अन्तर्गत यस्ता संरचना बनाउन थालेको हो। सीमाविद् बुद्धिनारायण श्रेष्ठका अनुसार भारतभित्रै रहेका तथा छिमेकी देशबाट बगेर आएका प्रमुख नदीलाई नहरद्वारा सानो नदीमा जोडेर उत्तरको पानी दक्षिणसम्म लैजाने बृहत् प्राविधिक कार्य नै भारतीय नदी जडान आयोजना हो। यसअन्तर्गत ३७ वटा प्रमुख नदीलाई १२ हजार ५ सय किलोमिटर लामा ३० वटा ठूला नहरद्वारा सानो नदीमा जोड्ने भारतीय योजना छ। ‘भारतले नेपालबाट बग्ने नदीलाई अग्लो बाँधले छेकेर नहर प्रणालीमार्फत एकआपसमा जोड्दा मनसुनको समयमा प्राकृतिक बहावलाई असर पर्छ,’ श्रेष्ठद्वारा लिखित ‘भारत र नेपाल सीमावर्ती बाँध’ नामक पुस्तकमा लेखिएको छ, ‘यस्तो हुँदा नेपालको सीमावर्ती तराईको भूभाग प्रभावित हुन जान्छ।’
कञ्चनपुरको महाकाली नदीमा निर्मित शारदा ब्यारेज भारतीय नदी जडान आयोजनाको निकै पुरानो पूर्वाधार हो। ब्रिटिसकालमा बनेको करिब दुई सय मिटर लामो यो ब्यारेजले अहिलेसम्म सताइरहेको छ। बर्सेनि मनसुनका बेला जलप्रवाह बढ्दा भारतले ब्यारेजका ३२ वटै ढोका थुनिदिन्छ। ‘त्यसपछि महाकाली डम्म भरिएर नेपालतिरै फर्किन्छ अनि हाम्रो उठिबास हुन्छ,’ ब्यारेज अति प्रभावित क्षेत्र भुजेलाका शिक्षक भैरव भट्ट भन्छन्, ‘बर्खामा त गाउँलेले केही दिन घर नछोडेको वर्षै छैन।’
पछिल्लो समय २०६५ असार ३ गते भने ब्यारेजले ठूलै विनाश निम्त्यायो। नदी भरिएर गाउँ डुब्दासम्म पनि भारतले ढोका खोलिदिएन। भुजेला, ओदाली, पिप्रैया, दोधारा र चाँदनीका स्थानीय बासिन्दा भागेर आफू त जोगिए, धनमाल र जग्गा भने बचाउन सकेनन्। शिक्षक भट्टका अनुसार बाढीले सयौं बिघा जग्गा काटेर लग्यो, घरबाससमेत बगायो। ‘धेरै ठाउँ गुहार गर्दा बल्लतल्ल अर्को दिन चारवटा ढोका खोलिदियो,’ उनले भने, ‘त्यसले पनि केही मात्रामा पानीको निकास भयो।’
भारतले आफ्नो भूमि सिँचाइ गर्न बनाएको शारदा ब्यारेजले बर्खामा तर्साइरहन्छ। पछिल्लो बाढीपछि स्थानीयले सरकारसँग सुरक्षित स्थलमा बसोबास व्यवस्था गर्न र क्षतिपूर्ति दिन माग गरेका छन्। तर, सरकारले सुने नसुन्यै गरिरहेको छ।
बाँकेका स्थानीयले त यस्तो क्षतिपूर्ति भारत सरकारले दिनुपर्ने माग गरेका छन्। भारतीय संरचनाकै कारण धनजन क्षति भएकाले उसैले क्षतिपूर्ति दिनुपर्ने संघर्ष समितिको माग छ। ‘बाँधप्रभावित समुदायलाई भारतीय सरकारबाट क्षतिपूर्ति दिलाउन नेपाल सरकारमार्फत पहल गर्न व्यवस्था मिलाइयोस्,’ समितिले असार १३ गते बाँके जिल्ला प्रशासन कार्यालयमा बुझाएको ज्ञापनपत्रमा भनिएको छ।
कञ्चनपुरदेखि पूर्व सर्दा विनाश निम्त्याउने थप दुई संरचना छन्– कैलाशपुरी बाँध र गोपिया बाँध। कैलालीको जवलपुरभन्दा केही पर मोहना नदीमा बनाइएको यो कैलाशपुरी बाँधले कैलालीका दक्षिणपूर्वी गाउँहरू भजनी, धनसिंहपुर, लालबोझी, थापापुरसाथै बर्दियाको राजापुर क्षेत्रमा ठूलो नोक्सानी निम्त्याउँछ। गोपिया बाँधले रत्नपुर, पर्सिया, भादागाउँ, इन्द्रपुर, सुरजपुरलगायत गाउँमा बर्सेनि डुबान पार्छ।