काठमाण्डौ ।
“मेरा छोराछोरी टेलिभिजन भनेपछि हुरुक्कै हुन्छन्”, आम अभिभावकको साझा गुनासो यस्तै रहने गरेको छ । तर, आफ्ना सन्तानहरूको टेलिभिजन मोहलाई लिएर हैरान भएका अभिभावकका लागि खुसीको खबर छ, आजको गोरखापत्र दैनिकमा खबर छापिएको छ । शिक्षा मन्त्रालय अन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ईआरओ)ले गरेको अध्ययनले टेलिभिजन हेर्नका लागि समय खर्च नगर्ने विद्यार्थीभन्दा दैनिक टीभी हेर्ने विद्यार्थीको सिकाइ उपलब्धि उच्च रहेको देखाएको छ ।
ईआरओले देशका २३ जिल्लाका कक्षा ३ र ५ का करिब ७८ हजार विद्यार्थीमाथि गत वर्ष गरेको अध्ययनले दैनिक बढीमा दुई घण्टासम्म टीभी हेर्नमा समय खर्चने विद्यार्थीको सिकाइ उपलब्धि उच्च रहेको देखाएको हो । “विद्यार्थीलाई टीभी हेर्नका लागि उपयुक्त समय र कार्यक्रम निर्धारण गर्न अभिभावकले सहयोग गर्नुपर्दछ”, शुक्रबार सार्वजनिक गरिएको अध्ययन प्रतिवेदनमा सुझाव दिइएको छ ।
गृहकार्य दिने शिक्षकलाई अभिभावक तथा विद्यार्थीले रुचाउँदैनन् । गृहकार्य कति दिने भन्ने बहसको विषय बन्न सक्ला तर गृहकार्य दिँदा विद्यार्थीको सिकाइ उपलब्धि निकै बढेको सोही अध्ययनले देखाएको छ । दैनिक दुईदेखि चार घण्टा समय गृहकार्यको लागि समय दिने विद्यार्थीको औसत उपलब्धि उच्च रहेको अध्ययनको निष्कर्ष छ ।
अध्ययनका क्रममा कक्षा ३ मा नेपाली र गणित विषयको र कक्षा ५ मा नेपाली, गणित र अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन गरिएको थियो । कक्षा ३ मा नेपाली विषयको सिकाइ उपलब्धि ५२ प्रतिशत र कक्षा ५ मा ४६ प्रतिशत, कक्षा ३ मा गणित विषयको सिकाइ उपलब्धि ४५ प्रतिशत र कक्षा ५ मा ४८ प्रतिशत तथा कक्षा ५ को अङ्ग्रेजी विषयको सिकाइ उपलब्धि ४७ प्रतिशत रहेको पाइएको छ ।
सन् २०१२ मा गरिएको अध्ययनका बेला कक्षा ३ मा नेपाली विषयको सिकाइ उपलब्धि ६३ प्रतिशत र गणितको ६० प्रतिशत थियो भने कक्षा ५ मा नेपाली विषयको सिकाइ उपलब्धि ६० प्रतिशत, गणितको ५३ प्रतिशत र अङ्ग्रेजीको ४८ प्रतिशत थियो ।
ईआरओका सहसचिव डा. लेखनाथ पौडेलले विद्यार्थीमा सिकाइ उपलब्धि खस्किँदै जानुले चिन्ता थपिएको बताउँदै भने , “विद्यालयमा अब पास र फेलको संस्कृति नै रहेन । यसले गर्दा पनि सिकाइ उपलब्धि खस्किन पुगेको हो । अब हरेक विद्यालयले सिकाइ सुधार योजना बनाउनुपर्दछ । ” अध्ययनले काठमाडौँ उपत्यकाको सिकाइ उपलब्धि तुलनात्मक रूपमा राम्रो रहेको देखाएको छ । विकास क्षेत्रका आधारमा सबैभन्दा कमजोर मध्यपश्चिमाञ्चलका विद्यार्थीको रहेको छ ।
ब्राह्मण, क्षेत्री र जनजातिको औसत उपलब्धि स्तर दलित र मधेसीभन्दा उच्च रहेको अध्ययनले देखाएको छ । दैनिक एकदेखि दुई घण्टासम्म घरायसी काममा संलग्न हुने विद्यार्थीको सिकाइ उपलब्धि प्रतिशत उच्च रहेको पाइएको छ भने विषयगत प्रश्नभन्दा वस्तुगत प्रश्नमा विद्यार्थीको सिकाइ उपलब्धि उच्च रहेको देखिएको छ । यसले कक्षामा सिर्जनात्मक क्रियाकलापभन्दा कण्ठ गर्ने क्रियाकलापमा जोड दिएको प्रतिवेदनको ठहर छ ।