विर्तामोड । अदुवामा निकासी कर नलगाउन पुनरावेदन अदालत इलामले अन्तरिम आदेश जारी गरेको छ । झापा जिल्ला समन्वय समितिले काँकडभिट्टाबाट भारत निकासी हुने अदुवामा प्रतिट्रक रु पाँच हजार निकासी कर लगाएपछि त्यस विरुद्ध परेको रिटमा पुनरावेदन अदालत इलामले अर्को निर्णय नआउञ्जेल त्यस्तो कर नलगाउन आदेश जारी गरेको हो ।
नेपाल अदुवा उत्पादक सङ्घका तर्फबाट बिहीबार पुनरावेदन अदालत इलाममा निकासी कर रोकी पाउँ भनी रिट दायर गरिएको थियो ।
अधिवक्ता उत्तम पौडेलका अनुसार मुख्य न्यायाधीश प्रकाशचन्द्र गजुरेलले अदुवामा निकासी कर नलगाउनु भनी अन्तरिम आदेश जारी गर्नुभएको हो । अदालतले विपक्षी झापा जिल्ला समन्वय समितिलाई छलफलका लागि भदौ २६ गते बोलाएको छ ।
झापा जिविसले विगतमा प्रतिट्रक रु ७०० निकासी कर लिँदै आएको थियो । तर हाल आएर कर बढाएर रु पाँच हजार पुर्याएको व्यापारीहरुको भनाइ छ ।