उर्लाबारी । धार्मिक एवम् ऐतिहासिक महत्वका मोरङका तीन ठाउँमा पुरातत्व विभागको टोलीले अनुसन्धान र उत्खनन् सुरु गरेको छ । ती ठाउँमा करिब दुई हजार वर्ष पुराना सामानहरु समेत भेटिएका छन् ।
मोरङको बेलबारीमा रहेको बेतना सिमसार, धनपालगढी र लेटाङ–भोगटेनीमा रहेको धिमाल राजारानी पोखरी क्षेत्रमा पुरातत्व विभागको चार सदस्यीय उत्खनन् टोलीले अध्ययन र अनुसन्धान गर्दा ती क्षेत्रमा पुराना सामग्री भेटिएको पुरातत्व विभागका अनुसन्धान अधिकृत विष्णु पाठकले बताए । असार २९ गतेबाट टोलीले ती क्षेत्रमा अनुसन्धान र उत्खनन् सुरु गरेको हो ।
सिमसार क्षेत्रमा माटोका भाँडाका टुक्राहरु र ढुंगाका पुराना हतियारहरु भेटिएपछि स्थानीयले सो सामानहरु जम्मा पारेर पूर्व सांसद् हर्कमान तामाङ मार्फत् पुरातत्व विभागमा पठाएपछि दुई वर्षअघि पहिलोपटक टोली आएर सो बारेमा अनुसन्धान सुरु गरेको थियो । यो पटक समेत गरेर बेतनामा मात्र तीन पटक उत्खनन् भइसकेको छ ।
उत्खनन्मा भेटिएका सामाग्रीको अध्ययन गर्दा मिथिलाको इतिहास भन्दा यस क्षेत्रको इतिहास झण्डै दोब्बर पुरानो भएको वरिष्ठ पुरातत्वविद् तारानन्द मिश्रले बताए ।
सो क्षेत्रमा भेटिएका माटोका टुक्राहरु र हतियारहरु ७०० देखि ३०० इसापूर्वका हुनसक्ने अनुमानका साथ बेतना क्षेत्रमा अनुसन्धान गर्नका लागि वरिष्ठ पुरातत्वविद् मिश्र सहितको टोली बेतनामा आएर अनुसन्धान सुरु गरेको थियो । मिश्रले सो क्षेत्रमा आर्य समुदायको बसोबास भएको हुनसक्ने र उनीहरुले नै प्रयोग गरेका भाँडा र हतियारहरु भएको हुनसक्ने अनुमानका साथ अनुसन्धान सुरु गरिएको बताए । टोलीमा पुरातत्व विभागका अधिकृत पाठक, इन्जिनियर लक्ष्मी महर्जन लगायत रहेका छन् ।
पुरातत्व विभागमा २०२१ देखि २०५२ सालसम्म अधिकृत भएका मिश्र सहितको टोलीले कपिलबस्तु, लुम्बिनी लगायतका स्थानमा समेत यसअघि उत्खनन् गरिसकेको छ । बेतनासँगै टोलीले यसपटक धनपालगढी र राजारानीमा समेत अध्ययन र अनुसन्धान गरेको छ । यस क्षेत्रको पर्यटकीय मात्र नभएर ऐतिहासिक तथा पुरातात्विक क्षेत्रका रुपमा विकास गर्नका लागि पनि यो उत्खनन् कार्यले मद्दत पुगेको र यसअघि सो क्षेत्रमा भेटिएका सबै सामग्रीहरु सुरक्षित राखिएको बेतना सिमसार सामुदायिक वन उपभोत्ता समूहका अध्यक्ष डम्बर बस्नेतले बताए । आजको प्रतिदिन दैनिकमा खबर छ ।