काठमाडौं ।
निरन्तर सुधारको गतिमा रहेको सेयर बजारमा यो साता धेरै हल्ला फैलियो । बजारमा आएका विभिन्न हल्लाले एक साता मै सेयर बजार परिसूचक १०९ अंकले घटेको आजको कारोबार दैनिकमा खबर छापिएको छ ।
साताको पहिलो दिन आइतबारदेखि दोहोरो अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार सबैभन्दा उच्च ४५ अंकले घटेको छ । बिहीबारको गिरावटसहित यो साता नेप्से परिसूचक १०९.३४ अंकले घटेको छ ।
साताको पहिलो दिन आइतबार कारोबार सुरु हुँदा १८ सय ६२.७६ अंकमा रहेको नेप्से परिसूचक साताभर घटेर १७ सय ६८.६० अंकमा झरेको छ । साथै साढे २० खर्ब पुगेको नेप्सेको बजार पुँजीकरण पनि बिहीबारसम्ममा घटेर १९ खर्ब ४९ अर्बमा झरेको छ ।
यो साता राजनीतिक वातावरणमा परिवर्तन, बजारमा कालोधनको प्रवेशलगायतका विविध हल्लाले लगानीकर्ताको मनोवल कमजोर भयो । अर्थ मन्त्रालय, धितोपत्र बोर्ड तथा नेप्सेले सम्पत्ति शुद्धीकरणका लागि १० लाख रुपैयाँसम्मको कारोबारमा स्रोत खुलाउन पर्ने व्यवस्थाको प्रभावकारी कार्यान्वयनलगायतका हल्ला सेयर लगानीकर्ताले सेयर बिक्री गरेपछि समग्र बजार सूचक साताभर नकारात्मक नै रह्यो ।
नेकपा माओवादी(केन्द्र)का अध्यक्ष पुप्ष्कमल दाहाल प्रधानमन्त्री भएसँगै सेयर लगानीकर्तामा केही हलचल सुरु भएको हो । नयाँ सरकारले सेयर बजारमैत्री नीति ल्याउँदैन भन्ने बुझाइ लगानीकर्तामा भएकाले सेयर बिक्री गर्ने बढेका हुन् ।
तर, सेयर बजारमा आएको पुँजी व्यक्तिगत बचत भएको लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले बताए । “पुँजी बजारमा कालोधन आएको छैन,” उनले भने, “बजारको वृद्धि नचाहने सीमित व्यक्तिले चलाएको हल्ला हो ।”