काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बुधबार प्रधानमन्त्री निर्वाचित भए पनि सोही दिन पदको शपथ लिएनन्। उनको चाहना शपथग्रहण गर्दा केही संख्यामै भए पनि मन्त्रीको घोषणा गर्नुपर्छ भन्ने थियो। जसअनुसार बिहीबार प्रधानमन्त्रीका रूपमा दाहालले र मन्त्रीमा माओवादीका तीन तथा कांगे्रेसका पनि त्यति नै जनालेे शपथग्रहण गर्ने तय गरियो। आजको नागरिक दैनिकमा खबर छ ।
शपथग्रहणको तयारी यत्तिमै सकिएन। पहिलो चरणमा क–कसले शपथग्रहण गर्ने भन्ने नाम पनि अघिल्लो दिनै तय गरियो जसका लागि नेकपा माओवादी केन्द्रबाट कम्तीमा तीन नेता कृष्णबहादुर महरा, जनार्दन शर्मा र राम कार्कीले शपथ लिने पार्टीभित्रबाटै चर्चा चलाइयो। अध्यक्ष दाहालसँगै मन्त्रीको शपथ लिन नेताहरू पनि व्यग्र प्रतीक्षामा थिए।
तर, शपथ ग्रहण गर्नुअघि बिहीबार बिहान बसेको माओवादी हेडक्वार्टर बैठकले पहिले सार्वजनिक गरिएका नाममध्ये महराको मात्र अनुमोदन गर्यो। शर्मा र कार्कीको साटो पहिलो चरणमा दाहालसँगै दलजित श्रीपाइली र गौरीशंकर चौधरीलाई मन्त्रिमण्डलमा पठाउने निर्णय गर्यो।
माओवादी हेडक्वार्टरस्रोतका अनुसार दाहाल मन्त्रिपरिषद्मा श्रीपाइली र चौधरी सहभागी हुने चर्चा भए पनि पहिलो चरणमै हुने गरी निर्णय भएको थिएन। ती हेडक्वार्टर सदस्यले भने, ‘एक्कासि श्रीपाइली र चौधरीको नाम आएपछि अध्यक्षसँगै उनीहरूले पहिलो चरणमा शपथ लिए। यसअघि नै मन्त्रीमा जाने भनी तय गरिएका नेता हेरेका हेर्यै भए।’