काठमाण्डौ ।
नेपाल–बेलायत सम्बन्धको दुई सय वर्ष पूरा भएको छ । रुस र जापानसँग नेपालको सम्बन्ध स्थापित भएको ६० वर्ष पुग्दै छ । तर, यी मुलुकबाट नेपालमा र नेपालबाट ती देशमा अहिलेसम्म उच्चस्तरीय भ्रमण सकेको छैन, नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ।
सरकारले तीनवटै मुलुकका सरकारप्रमुख तथा राष्ट्रप्रमुखलाई भ्रमणका लागि ‘स्ट्यान्डिङ’ निमन्त्रणा पठाइसकेको छ, तर उनीहरू आउने अझै यकिन छैन । नेपालमा लामो समयदेखि अमेरिकाबाट उच्चस्तरीय भ्रमण भएको छैन ।
भारत र चीनका राष्ट्रपतिको नेपाल भ्रमणको चर्चा सुरु भएको छ । तर, ‘हाई प्रोफाइल’ दुवै भ्रमण निश्चित छैन । भारतका राष्ट्रपति प्रणव मुखर्जी र चीनका राष्ट्रपति सी जिनपिङको सम्भावित नेपाल भ्रमणबारे आ–आफ्नै ढंगले चर्चा गर्न थालिएको छ ।
सरकारले निमन्त्रणा गरे भारतीय राष्ट्रपति तत्कालै आउन पनि तयार रहेको सन्देश सरकारले पाएको छ । चीनका राष्ट्रपति आगामी अक्टोबरमा आउने चर्चा भए पनि यकिन छैन । राष्ट्रपति विद्या भण्डारी पनि भारत भ्रमणमा जाने सोचमा छिन् । यसअघि गत वैशाखमा तय भएको राष्ट्रपति भण्डारीको भारत भ्रमण अन्तिम समयमा आएर रद्द भएको थियो ।
नेपाल र बेलायतबीच यही वर्ष दौत्य सम्बन्धको दुई सय वर्ष पुगेको छ । दौत्य सम्बन्धको दुई सय वर्ष मनाउने कसरत भइरहँदा दुवैतिरबाट उच्चस्तरीय भ्रमण सकेको छैन ।
बेलायतको राजपरिवारका सदस्य राजकुमार ह्यारीले यसै वर्ष नेपाल भ्रमण गरे । राजपरिवारका सदस्यले गरेको यो १८ वर्षपछिको पहिलो भ्रमण हो । दुवैतिर राष्ट्रप्रमुख वा सरकारप्रमुखको औपचारिक भ्रमण नै अनिश्चित छ ।