काठमाण्डौ ।
नयाँ मन्त्रीको शपथ ग्रहण सम्पन्न भएलगत्तै बीच बाटोमै गाडी खोसिएपछि निवर्तमान युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डल हिँडेरै डेरा पुगेका छन् । बिहीबार शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री तथा मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रममा सहभागी भएर फर्कने क्रममा बाटोमै गाडी खोसिएपछि मण्डल हिँडेर डेरा पुगेका हुन् । अन्नपुर्ण दैनिकमा खबर छ ।
बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री निर्वाचित भएपछि मन्त्रीक्वार्टर छाडेका मण्डल बानेश्वरमा डेरा सरेका छन् । शपथ ग्रहण कार्यक्रममा सहभागी भएर फर्कने क्रममा मण्डलले आफूले प्रयोग गर्दै आइरहेको झन्डावाल गाडी नयाँ मन्त्रीका लागि फर्काइदिएका थिए । त्यसपछि उनले डेरासम्म पुग्न आफ्नो सचिवालयले प्रयोग गरेको सेतो रङको गाडी झिकाएका थिए । तर मन्त्रालयका कर्मचारीले त्यो गाडी लान नदिएपछि उनी मध्यबानेश्वरबाट झन्डै डेढ किलोमिटरभित्र रहेको डेरामा हिँडेरै पुगेका थिए ।
जिम्मेवारीबाट मुक्त भएको २४ घन्टा पनि नबित्दै मन्त्रालयका कर्मचारीले देखाएको व्यवहारबाट निवर्तमान मन्त्री मण्डल दुःखी बनेका थिए । मण्डलका स्वकीय सचिव दुर्गानन्द ठाकुरले मन्त्रालयका कर्मचारीले व्यक्तिगत रिस पोख्न गलत व्यवहार गरेको बताए ।
‘हामी प्रधानमन्त्री तथा मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रमबाट ५ बजे फर्कंदै थियौं । मन्त्रीज्यूले त्यहींबाट नयाँ मन्त्रीका लागि आफूले प्रयोग गर्दै आएको झन्डावाल गाडी फर्काइदिनुभयो’, ठाकुरले भने, ‘त्यसपछि उहाँले डेरासम्म पुग्न सचिवालयको गाडी मगाउनुभएको थियो तर मन्त्रालयले पठाएन । मन्त्रालयका सहसचिव चूडामणि पौडेलले व्यक्तिगत रिस पोख्न गलत व्यवहार देखाए ।’