झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि.को वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी चितवनको सौरहामा शुरु भएको छ । बिहीबारदेखि शरु भएको गोष्ठी ३ दिनसम्म चल्नेछ ।
संस्थाका अध्यक्ष ताराप्रसाद सञ्जेलको अध्यक्षतामा भएको उद्घाटन समारोहमा संस्थाका परामर्शदाता मेघराज गजुरेल, सल्लाहकार लक्ष्मण पाठक लगायतले सहाराले हालसम्म सञ्चालन गरेका कार्यक्रमका बारेमा चर्चा गर्दे प्रगतिको बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा बोल्दै गजुरेलले सहारा नेपाल साकोस क्षमता र दक्षताका आधारमा एसियामा मात्र नभएर विश्वमै उत्कृष्ट भएको धारणा राखेका थिए । कार्यक्रममा संस्थाका सल्लाहकार पाठकले सहारा नेपाल लक्षित वर्गमा पुग्न सफल संस्था भएको र सर्वसाधारणको जीवन स्तर उकास्न मद्दत पुर्याएको चर्चा गरेका थिए ।
कार्यक्रममा संस्थाका सहायक निर्देशक लक्ष्मण खतिवडा, बिभागीय प्रमुखहरु दिनेशबहादुर निरौला, ईश्वरप्रसाद भट्टराई, इलाका प्रवन्धकहरु मुकुन्दसेन कार्की, राजकुमार दर्नाल, जगन्नाथ भट्टराई, रामनारायण प्रधानले संस्थाले सञ्चालन गरेका गतिबिधीबारे प्रस्तुतीकरण गरेका थिए ।
१६ करोड नाफा
यस वर्ष संस्थाले १६ करोड रुपैयाँ नाफा गरेको छ । संस्थाका सहायक निर्देशक खतिवडाका अनुसार आर्थिक वर्ष ०७२÷०७३ मा १६ करोड ३० लाख ४८ हजार ३ सय ९४ रुपैयाँ नाफा गरेको छ । संस्थाको जम्मा शेयर पुँजी ३५ करोड ७४ लाख रहेको छ भने हाल सम्ममा संस्थाको शेयर सदस्य संख्या १ लाख छन् ।