विर्तामोड । गत साउन ९ गते रातिदेखि पूर्वमा अविरल बर्षा सुरु भएपछि झापाका राजमार्ग दक्षिणका गाविस तथा नगरपालिका क्षेत्रमा डुवानका खबरहरु आउन थाले । खोला नाला उर्लेर आए । साउन १० गते झापाको दक्षिणी नगरपालिका भद्रपुर १ को भैंसाबाडीमा मेची नदीले धार परिवर्तन गरेर नदी नै गाउँ पसेपछि त्यहाँ मानिसहरुको विचल्ली भयो । मानिसहरु घरभित्रै पोखरी बनेको ठाउँमा अड्केर बसे । कतिजनालाई बाटोमा हिँडदै गर्दा एक्कासी खोलाले बगायो र रुखमाथि चढेर घन्टौंसम्म बसे ।
त्यो बेला स्थानीयबासी तथा अन्य स्रोतबाट उद्धार गर्ने अवस्था रहेन । अपरान्ह तिर चारआलीमा रहेको नेपाली सेनाको कालीबहादुर गणका गणपति खेमनारायण पौडेलको नेतृत्वको टोली त्यहाँ पुग्यो र मोटरबोटको सहायताले आतंकित बनेका मानिसहरुलाई उद्धार गर्न सुरु गर्यो । सबैलाई उद्धार गरेपछि पृथ्वीनगरको हिमाली उच्च माध्यमिक विद्यालयमा ति उद्धार गरिएका भैंसाबाडीबासीलाई राखियो । यता विरिंग, माई, रतुवा लगायतका नदीले बाँध फुटाउन लागेका थिए ।
तत्काल नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयक्त टोलीले बाँधलाई सुरक्षा दिएर राख्ने काम गरे । खासगरी कालीबहादुर गणका सैनिक जवानले ज्यानको पर्वाह नगरी खोलाका बाँधलाई बाँधेर गाउँलेलाई बचाए । राहत बाँढन जिल्ला प्रशासन कार्यालय, रेडक्रस, जिल्ला विकास समिति, बन कार्यालय तथा नेपाली सेनाको टोली पृथ्वीनगर पुग्दा भैंसाबाडीका होमबहादुर राजवंशीले मुक्त कण्ठले उद्धार कार्यमा खटिएका नेपाली सेनाको प्रशंसा गरे । उनले भने, ‘नेपाली सेनाले उद्धार नगर्नु हो भने हामी डुबेर मर्ने थियौं ।’

झापामा अविरल पश्चात आएको बाढीका लगत्तै जिल्लामा तैनाथ रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतका सुरक्षा निकायहरुले उद्धार कार्यमा उल्लेख्य भूमिका निर्वाह गरे । झापामा तैनाथ नेपाली सेनाको कालीबहादुर गणको टोलीले उक्त प्रकोपको समयमा करिव तीनसय परिवारलाई उद्धार गरि सुरक्षित स्थानतर्फ लैजान सघाउ पु¥याउनका साथै जिल्लाका विभिन्न ६ स्थानहरुमा नदीले बस्तीतर्फ गरेको कटानलाई रोकथाम गर्नको लागि अस्थाई बांध निर्माण कार्य समेत सम्पन्न गरेको छ ।
प्रकोपको समयमा मात्र नभएर प्रकोप पश्चात प्रभावितहरुलाई राहत प्रदान गर्ने र व्यवस्थापन गर्ने कार्यमा समेत नेपाली सेनाले अग्रणी भूमिका निर्वाह गरिरहेको छ । यसका साथै गर्मी याममा बाढी पश्चात बढ्न सक्ने सर्पदंशका घटनाहरुलाई मध्यनजर राख्दै उक्त प्रभावित इलाकाहरुमा सर्पदंश सम्बन्धि जनचेतनामुलक कार्यक्रम समेत सेनाले सञ्चालन गरिरहेको छ । यसै क्रममा मिति साउन १७ गते चारआलीबाट गएको सेनाको टोलीले जिल्लाको पृथ्वीनगर, बनियानी र पाठामारी गाविसहरुमा सर्पदंश सम्बन्धि सो कक्षा सम्पन्न गरेको हो ।

बाढी प्रभावित इलाकाका महिला, बालबालिका, वृद्धवृद्धा, विद्यार्थी लगायतको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा पृथ्वीनगर गाविसका सय जना, बनियानी गाविसका दुईसय जना र पाठामारी गाविसका ९० जना गरि करिव ४ सय भन्दा बढी स्थानीय बासिन्दाको सहभागिता रहेको थियो । जनचेतनामुलक कक्षालाई जिल्लाका अधिकतम समुदायमा पु¥याई स्थानीयबासीलाई लाभान्वित गराई सर्पको टोकाईबाट वर्षेनी हुने गरेको प्रभावलाई न्युनिकरण गर्नको लागि नेपाली सेना प्रतिवद्ध भई लागेको कालीबहादुर गणका गणपति प्रमुख सेनानी खेम नारायण पौडेलले बताए । (तस्वीरहरुः कालीबहादुर गण)