काठमाण्डौ ।
विगतका वर्षमा समयमै पानी नपरेर हैरान किसान यस वर्ष भने अत्याधिक वर्षाका कारण पिडीत बनेका छन् । वर्षा सँगै आएको बाढीपहिरोका कारण हाल सम्म ७९ हजार हेक्टरमा लगाईएको बाली नष्ट भएको छ । यो वर्षको वर्षात शुरु भएदेखि आएको बाढिपहिरो कटान र डुबानका कारण धानबाली सहित तरकारी खेती मकै बाली माछापोखरी लगायतमा क्षति पुगेको छ । पाँच विकास क्षेत्रअन्तर्गत २४ जिल्लाका किसान प्रकोपबाट प्रत्यक्ष प्रभावित भएको कृषि विभागको तथ्यांक छ । आजको कारोबार अार्थिक दैनिकमा खबर छापिएको छ ।
बाढीपहिरोका कारण करिब साढे ३ करोड रुपैयाँबराबरको बालीनाली क्षति भएको अनुमान छ । वर्षात्को कारण सबैभन्दा ठूलो क्षति पश्चिमाञ्चलका कृषकले बेहोर्नु परेको छ । डुवान र पहिरोका कारण पश्चिमाञ्चल विकास क्षेत्रमा मात्र ६९ हजार २९६ हेक्टर क्षेत्रको धानबाली, माछापोखरी, तरकारी र सुन्तला बगैंचा नष्ट भएको छ ।
बाढीपहिरो र डुबानका कारण मध्यमाञ्चलको रसुवा, नुवाकोट, रामेछाप, धनुषा, रौतहट, सर्लाही, पर्सा र चितवन गरी ४ हजार ५२४ हेक्टरको धान, मकै, अलैंची र तरकारी क्षति भएको कृषि विभागको तथ्यांक छ ।
मध्यपश्चिमाञ्चलको सुर्खेत र बाँकेमा मात्र ३ हजार ७० हेक्टरको धान, मकै र माछापोखरी, पूर्वाञ्चलको झापा, मोरङ, सुनसरी र सिराहामा २ हजार २७० हेक्टर क्षेत्रको धान तथा तरकारी बाली र सुदूरपश्चिमको बाजुरा, दार्चुला र डोटीमा साढे ६५ हेक्टर क्षेत्रको मकै, धान र कोदोबाली नष्ट भएको विभागको तथ्यांक छ ।
कृषि विभागका अनुसार पश्चिमाञ्चलका नवलपरासी, कपिलवस्तु र रुपन्देहीमा डुवानले धानखेती र माछापोखरी प्रभावित बनेको छ भने कास्की, स्याङ्जा र पर्वत जिल्लामा पहिरो र कटानले क्षति गरेको छ ।
“कपिलवस्तुमा मात्र ५५ हजार ८५० हेक्टरको धान, माछापोखरी र तरकारी डुवानमा परेर नष्ट भएको तथ्यांक प्राप्त भएको छ,” कृषि विभागका महानिर्देशक डा. युवकध्यज जीसीले भने, “रुपन्देही पनि डुवानमा परेर १३ हजार १२ हेक्टरमा धान, माछा, तरकारी, बदाम र केरालगायतका बाली नष्ट भएको छ ।”
नवलपरासीमा २२८ हेक्टरको धानखेत तथा माछापोखरी कटान र ढुवानका कारण नष्ट भएको र कास्कीमा १७ हेक्टर धानखेत पहिरोेले लगेको उनले बताए । विभागका अनुसार कपिलवस्तुमा मात्र ५५ हजार हेक्टरको धानखेत डुबेको छ । कपिलवस्तुमै २६० हेक्टर क्षेत्रबराबरको माछापोखरी डुवान परेर माछा नष्ट भएका छन् भने ५९० हेक्टरको तरकारी बाली डुवान र कटानका कारण नष्ट भएको छ ।
अर्को क्षतियोग्य जिल्ला रुपन्देहीमा १२ हजार ९६२ हेक्टरको धानखेती डुबेको छ भने ५० हेक्टरको माछापोखरी, ५.५ हेक्टरको तरकारी, ३.३ हेक्टरको बदाम र १ हेक्टरको केरा खेती नष्ट भएको विभागको तथ्यांक छ ।
बर्सेनि प्राकृतिक प्रकोपका कारण क्षति हुँदै आएपछि किसानलाई राहत भने न्यून मात्र पुग्ने गरेको छ । विभागले बर्सेनि प्राकृतिक प्रकोपका कारण मुलुकभर कृषिमा गरेको क्षतिको विवरण संकलन गरी मन्त्रालयमा पठाउने गरेको छ ।
“हामीलाई प्राप्त भएको तथ्यांकका आधारमा जिल्ला दैवीप्रकोप उद्धार समितिको निर्यणअनुसार हामीले किसानलाई राहत उपलब्ध गराउँछौं,” मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्कीले भने, “यो वर्ष पनि करिब ३–४ करोडको क्षति भएको प्रारम्भिक जानकारी आएको छ, पूर्व विवरण आएपछि राहत वितरणको प्रक्रिया सुरु हुन्छ ।” चालू आवका लागि मन्त्रालयले दैवीप्रकोप पीडित किसानलाई राहतका लागि एक करोड रकम विनियोजन गरेको उनले बताए ।