काठमाण्डौ ।
नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँग चिसिएको सम्बन्ध सुधार्न आफ्नो विदेश भ्रमण गर्ने सूचीमा भारतलाई पहिलो नम्बरमा राखेका छन्, अन्नपूर्ण पोस्टमा खबर छ ।
सात वर्षपछि दोस्रोपटक नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित भएका ६१ वर्षीय दाहालले भारतलगत्तै चीन भ्रमण गरेर कूटनीतिक सन्तुलन कायम गराउने योजना बनाएका हुन् । यसअघि प्रधानमन्त्री हुँदा दाहालले पहिलो विदेश भ्रमण चीनबाट गरेका थिए ।
प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै दाहाललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिँदै भारत भ्रमणको निमन्त्रणा गरेका छन् । प्रधानमन्त्री पदमा शपथग्रहण गरी पदभार नसमाल्दै मोदीले दाहाललाई दिएको भारतको औपचारिक भ्रमणको निमन्त्रणापत्र केही दिनभित्रै भारतीय राजदूत रन्जित रेले दाहाललाई भेटेर हस्तान्तरण गर्ने स्रोतले बतायो ।
दाहालले बिहीबार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएलगत्तै सानो आकारको मन्त्रिपरिषद् गठन गर्नेछन् ।
नेपालमा आवश्यकताको एकतिहाइ पेट्रोलियम पदार्थ चीनबाट ल्याउने समझदारी, चीनसँग गरिएको पारवहन सम्झौता, नेपाल र चीनबीच विद्युत् प्रसारण लाइन निर्माण गर्ने समझदारी, चिनियाँ सहयोगमा केरुङ–काठमाडौं–पोखरा र लुम्बिनीसम्म रेलमार्ग निर्माण गर्ने समझदारीपछि नेपालमा रहँदै आएको भारतको एकाधिकार तोडिन लागेकोप्रति भारतीय अधिकारी नेपाल मामिलामा गम्भीर बन्दै आएका थिए ।