काठमाण्डौ ।
करिब पाँच वर्षअघि साउदी अरबमा मृत्यु भएका हर्षबहादुर खत्रीको शव पहिचान खुलेको महिनौं भइसक्दा पनि नेपाल झिकाउन सकिएको छैन। मृत्यु भएको खबर पुष्टि भए पनि शव भेट्टाउन नसकिएपछि तीन वर्षअघि मृतकका बाबु वीरबहादुरले कुशको शव बनाएर छोराको किरिया गरे। अाजको कान्तिपुर दैनिकमा खबर छ ।
किरियाको वर्षौंपछि साउदी अरबको रियादस्थित दूतावासले गत वैशाखमा खत्रीको परिवारलाई खबर पठायो, ‘तपाईंको छोराको शव फेला पर्यो।’ तर यस्तो सूचना पाएको तीन महिना बितिसक्दा पनि शव नेपाल ल्याइएको छैन।
शव ल्याउने पहल गर्न गत जेठमा वीरबहादुर बाँके ए गाउँ सीतापुरबाट काठमाडौं आएका थिए। त्यतिबेला परराष्ट्र मन्त्रालयदेखि कन्सुलर शाखासम्म र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डदेखि गृह मन्त्रालयसम्म धाएको गुनासो पोख्दै वीरबहादुरले भने, ‘छिटै हुन्छ भनेका थिए, केही खबर पाएका छैनौं।’ छोराको शव आउने आसमा बसेकी वीरबहादुरकी पत्नीको रातोदिनको रुवाइ रोकिएको छैन। वीरबहादुरले भने, ‘छोराको अनुहार मात्रै देख्न पाए हुन्थ्यो भन्ने उसको इच्छा छ।’ साउदी प्रहरीका अनुसार खत्रीको शव अलहासास्थित सरकारी अस्पतालमा राखिएको छ।
वीरबहादुरले सरकार फेरिएका कारण छोराको शव ल्याउने पहल चाल्न काठमाडौं आउन नपाएको सुनाए। उनले भने, ‘अब नयाँ प्रधानमन्त्री बनेपछि केही पहल गर्छन् कि भन्ने आस छ।’ गैरकानुनी कामदारको शव ल्याउन सरकारले रकम बेहोर्न नसक्ने भएकै कारण दूतावासदेखि मन्त्रालयसम्मले यसमा अन्योल साधिरहेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार खत्रीको शव ल्याउन करिब दुई लाखदेखि साढे दुई लाख रुपैयाँ लाग्ने देखिन्छ।