काठमाण्डौ । ट्यांकरबाट वितरण गरिएको अत्यधिक प्रदूषित पानीका कारण उपत्यकामा हैजाले प्रकोपको रूप लिएको पुष्टि भएको छ । विगत एक महिनादेखि ललितपुर, भक्तपुर र काठमाडौं जिल्लाका विभिन्न स्थानमा फैलिरहेको हैजाको मुख्य कारक दिसा मिश्रित प्रदूषित पानी ‘कोलिफर्म’ भएको स्वास्थ्य सेवा विभाग महामारी तथा रोग नियन्त्रण महाशाखाले पुष्टि गरेको छ । आजको अन्नपुर्ण दैनिकमा खबर छ ।
हैजाका संक्रमितले पिउँदै आएको पानीको नमुना टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्दा करिब ५० प्रतिशत पानीको नमुना दिसा मिश्रित प्रदूषित भएको फेला परेको हो । महाशाखा, जिल्ला जनस्वास्थ्य कार्यालय र जोन हप्किन्स विश्वविद्यालयबाट खटिएको टोलीले स्थलगत अध्ययनपछि संकलन गरेको ९६ वटा पानीका नमुना जाँच गर्दा ४६ वटामा कोलिफर्म पाइएको महाशाखाका डा. गुणनिधि शर्माले बताए ।
‘हैजा फैलिएलगत्तै हामीले संक्रमित बिरामीले पिउँदै आएको पानी, खाँदै आएको खाना, उनीहरूले अपनाउँदै आएको सरसफाइ र स्वस्थ जीवनशैलीका सम्बन्धमा स्थलगत अध्ययन सुरु गरेका थियौं ।
मुख्य रूपमा प्रदूषित पानीबाट हैजाका जीवाणु मानिसमा सरेको पाइएको छ’, बुधबार हैजा प्रभावित ललितपुरको बालकुमारीमा स्थलगत अध्ययनका क्रममा भेटिएका डा. शर्माले अन्नपूर्णसँग भने, ‘फोहोर र सढेगलेको खाना, सरसफाइको अभाव पनि सहायक कारक बनेका छन् हैजा फैलिनुमा ।’
उपत्यकामा हालसम्म ३३ जनामा हैजा भएको पुष्टि भइसकेको छ । ललितपुरको सुन्धारामा ७, ठैवमा ५, हरिसिद्धि र बालकुमारीमा ४–४ जना, बाफल र धापाखेलमा २–२ जना, धाँचीअलापोट, सामाखुसी, भैंसीपाटी, त्रिपुरेश्वर, एकातन्कुना, कुपण्डोल, इमाडोल, बगलामुखी र जडीबुटीमा १–१ जनामा हैजा पुष्टि भएको हो । उनीहरू अधिकांश पाटन र शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा उपचार गरेर घर फर्किएका छन् ।