काठमाण्डौ । केपी ओली नेतृत्व सरकारद्वारा प्रस्तावित राजनीतिक दलका कोटाका राजदूतको सुनुवाइ के गर्ने भन्ने विषयमा संसदीय सुनुवाइ समितिभित्रै मतभेद भएको छ । राजदूत सिफारिस गर्ने सरकार ढलेर नयाँ बनिसकेको भन्दै केही सदस्यले सुनुवाइ रोक्न सभापतिलाई सुझाव दिएका थिए । आजकझ कान्तिपुर दैनिकमा खबर छ ।
कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठले करिअरको सकिएपछि अरूको सुनुवाइलाई एक दिन रोकौं भने । उनले बुधबारै करिअर राजदूतको नाम समितिले सकेर बिहीबार खाली राख्न आग्रह गरे । एमाले र माओवादी केन्द्रका सभासदले भने लगातार अघि बढौं भनेका थिए । कांग्रेसका बालकृष्ण खाँडले पनि सुनुवाइ अघि बढाऔं तर नियुक्ति गर्ने या नगर्ने त सरकारको निर्णय हो भन्दै यसलाई रोकेर राख्न नहुने बताए ।
कार्यरत राजदूतहरूलाई समेत सरकारले फर्काउन सक्ने हुनाले सुनुवाइ गरिरहने, बाँकी पछि हुने निर्णयमा निर्भर गर्ने समितिमा राय आएको थियो । सभापति कुलबहादुर गुरुङले सरकारले प्रस्ताव गरिसकेर आएको नामलाई सुनुवाइ गर्दै अघि बढाउनुपर्ने बताए । उनले भने, ‘म त सबैको सुनुवाइ क्रमैसँग गर्दै जाउँ भन्नेमा छु तर साथीहरूको कुरा के हो ? म बुझ्नै सक्दिनँ ।’ बुधबारै करिअरको सक्ने भनिए पनि प्रधानमन्त्रीको निर्वाचनमा सदस्यहरू जानुपर्ने भन्दै बिहीबार बिहान ८ बजेसम्मलाई सुनुवाइ स्थगित छ ।