काठमाडौं । अाइतबार अपहरणमा परि अाज बिहान मृत अवस्थामा भेटिएका ११ वर्षीय बालक निशान खड्कालाई अज्ञात समूहले नभई, सधैं अाफ्नै हाेटलमा खाना खाजा खान अाउने मानिसले अपहरण गरि हत्या गरेकाे खुलेकाे छ ।
काँडाघारीस्थित मनोहरा खोलाको छेउमा निशानकी अामाले शुरु गरेकाे सानाे चिया/खाजा पाइने होटल छ । निशानकी आमा चमेली खड्काले उक्त हाेटल करीब ८/९ वर्षदेखि सञ्चालन गर्दै आएकी छिन् ।
निशानकाे अपहरणपछि हत्या गर्ने गोपाल तामाङ निशानकी अामाले सञ्चालन गरेकाे हाेटलमा विगत ४-५ वर्ष देखि खाना खाजा खान अाउने गर्थे । उनका साथमा अजय तामाङ पनि अाउने गरेका थिए ।
खड्का परिवारसंग राम्रै चिनजान बनाइसकेका तामाङले हजाराैं रुपैयाँ उधाराे राख्ने गरेकाे पनि स्थानियले बताएका छन् ।
घुमाउने बहानामा अपहरण
यति राम्राे लामाे चिनजानका बावजुद तामाङले कसरी र किन निशानकाे अपहरण गरे त ?
निकट स्रोतले जनाएअनुसार प्रहरी इन्काउन्टरमा मारिएका गोपाल तामाङले नै घुमाउन लैजान्छु भनेर लगेका थिए । साँझ अबेर सम्म पनि छाेरा घर नफर्किएन ।
बरु अपहरणकारीले निशान अाफ्नाे साथमा रहेकाे र फिराैती बापत १ कराेड माग गरेका थिए । करोडबाट सुरु भएको बार्गेनिङ ४० लाखमा झरेको थियो ।
फिराैतीका लागि फाेन अाए लगत्तै अामा चमेलीले पुलिसलाई खबर गरिन् । घट्ना थाहा पाए लगत्तै प्रहरीले खाेज तलास पनि शुरु गरेकाे थियाे ।
निशानकी अामा चमेलीले प्रहरीमा खबर गरेकाे थाहा पाए लगत्तै अपहरणकारीले निशानकाे अाइतबार रातिनै हत्या गरेकाे हुन सक्ने प्रहरीकाे अाशंका छ ।
अपहरणमा परेका निशानको शव साेमबार विहान भक्तपुरमा निर्माणाधीन एउटा घरको जगमा पुरिएकाे अवस्थामा फेला पर्याे । भक्तपुरको थिमीमा निर्माणाधीन एउटा घरको जगमा बालक खड्काको शव फेला परेको अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए ।

अपहरणकारीकाे खाेजी गर्ने क्रममा पाइलट बाबा जंगलतर्फ भागेको सूचनाका आधारमा गएको प्रहरीसँग मुठभेड हुँदा नुवाकोटका गोपाल र सिन्धुपाल्चोकका अजय तामाङ मारिएका हुन् ।
उनीहरुकाे साथबाट प्रहरीले अपहरणपछि प्रयोग भएको मोवाइल नम्बर, एउटा पेस्तोल र त्यसमा लाग्ने गोली बरामद गरेकाे छ ।

हत्याकाे कारण पैसा मात्रकी अरु नै ?
विगत ५ वर्षदेखि चमेली खड्काकै हाेटलमा खाजा खाना खान अाउने तामाङद्वयले पैसाकै लागि निशानकाे अपहरण गरेका थिए वा अरु नै कारण थियाे भन्ने भने खुलेकाे छैन ।
तर अपहरण लगत्तैकाे फिराैतिकाे फाेनले भने निशान लामाे समयदेखि अपहरणकारीकाे निशाना रहेकाे हुन सक्ने अाशंका छ ।
सिन्धुपाल्चोक, ज्यामिरे घर भएका निशानका बुवा गणेश खड्का रोजगारीको सिलसिलामा मलेसियामा छन् ।