काठमाण्डौ । राजनीतिक सहमतिका आधारमा नयाँ सरकार गठनको औपचारिक प्रयास असफल भएपछि बुधबार संसद्ले बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्ने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार निर्माणका लागि दिएको सात दिनको समय व्यर्थ भएपछि बहुमतीय सरकार गठनका लागि सोमबार संसद्लाई पत्राचार गरेकी हुन् ।
सभामुख ओनसरी घर्तीले संसदको सोमबारको बैठकमा नयाँ सरकार गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराउँदै प्रधानमन्त्री निर्वाचनको कार्यक्रम प्रकाशित गर्न संसदका महासचिवलाई निर्देशन गरेकी हुन् ।
संसद् सचिवालयले सोमबारै प्रकाशित गरेको निर्वाचन कार्यक्रमअनुसार प्रधानमन्त्री पदका लागि बुधबार सदनमा हुने निर्वाचनमा उम्मेदवार बन्न चाहने सांसदले मंगलबार बिहान ११ देखि अपराहन ४ बजेभित्र उम्मेदवारी दर्ता गराउनुपर्ने छ ।
संसदको नियमावलीअनुसार व्यवस्थापिका संसदको कुनै पनि सदस्यले एक प्रस्तावक र एक समर्थकको हस्ताक्षरसहित आफूलाई प्रधानमन्त्री पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव दर्ता गराउन सक्छन् ।
निर्वाचन कार्यक्रमअनुसार मंगलबार साँझ नै उम्मेदवारको सूची प्रकाशित हुनेछ । संसदको नियमावलीअनुसार प्रधानमन्त्री पदमा एक उम्मेदवारी दर्ता भएमा पनि सदनमा मत विभाजन गर्नुपर्छ ।
त्यसमा प्रस्तावमाथिको संक्षिप्त छलफलपछि प्रस्तावको पक्षरविपक्षमा मत विभाजन (सांसदको वर्णानुक्रम अनुसारको नामावलीमा हस्ताक्षर गर्ने) प्रक्रिया अपनाइन्छ ।
यस्तो प्रक्रियामा संसद्मा तत्काल बहाल रहेको कुल सदस्य संख्या (दुई निलम्बितसमेत ५ सय ९५) को बहुमत (२ सय ९८ सदस्यको समर्थन) प्राप्त गरेमा उम्मेदवारी दिने व्यक्ति प्रधानमन्त्री पदमा निर्वाचित भएको घोषणा हुन्छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।