काठमाडौं । अन्तर्राष्ट्रिय कल बाइपासको अवैध धन्दामा संलग्न दुई नेपाली एजेन्ट प्रहरीकाे फन्दामा परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले चितवन र चन्द्रागिरीमा छापा मारेर रुपन्देहीको तिलोत्तमा–११ का ३१ वर्षीय विजय गुरुङ र चितवनको भरतपुर–१६ का २२ वर्षीय सुनिल अधिकारीलाई पक्राउ गरेकाे हो ।
उनीहरुलाई भरतपुर–१०, चारतले चोकस्थित नारायण पौडेलको घरमा छापा मारेर भीओआईपीमा प्रयोग हुने विभिन्न सामग्रीसहित पक्राउ गरिएको ब्यूरोका एसपी कृष्णहरि शर्माले बताए ।
चितवनबाट १ सय २८ र ६४ पोर्टको भीओआईपी सीम बक्स, एयरटेलको फोरजी राउटर, टिपीलिंक राउटर लगायत बरामद भएको शर्माले बताएका छन् । चन्द्रगिरीबाट भने ६४ पोर्टको जीओआईपी गेटवे र त्यसको चार्जरसहितका अन्य सामग्री बरामद भएको उनले बताए ।
अवैध कल बाइपासमा संलग्न उनीहरुले एक जना बंगलादेशी नागरिकको निगरानीमा भीओआईपीको धन्दा चलाएको खुलेको प्रहरीले जनाएकाे छ ।
बंगलादेशको पन्चगढ, मिर्जापुरको अन्दाजी ३३/३४ वर्षका मिर्जा शाहिर आलम तुर्जौ यो प्रकरणका मुख्य योजनाकार रहेकाे प्रहरीले बताएकाे छ ।