काठमाडौं । मुखमा लुकाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी गर्दै गर्दा दुई जना विदेशी नागरिक मंगलबार पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतीय नागरिक रइज अहमद र मोहम्मद अजाम छन् । विमानस्थल प्रहरीका उपरीक्षक (एसपी) दिनेशराज मैनालीका अनुसार अहमदको साथबाट १ सय १६ ग्राम र अजामको साथबाट १ सय ३९ ग्राम सुन बरामद गरिएको छ ।
मैनालीका अनुसार उनीहरुले जीब्रोमुनि लुकाएर सुन ल्याएका थिए ।
‘चेक हुने ठाउँमा अहमद प्रहरीसँग बोलेनन् । त्यसपछि शंका लागेर बाहिर निस्किएर हर्दा सुनको दाँत जस्तो देखियो’, उनले भने, ‘त्यसपछि हेर्दा उनको साथबाट सुन फेला परेको हो ।’
अहमद पक्राउ परेपछि उनलाई खोज्दै आउँदा अजाम पनि पक्राउ परेका हुन् । उनीहरुले बुद्ध एयरको उडानमार्फत नेपालगञ्ज जाने तयारी गरेका थिए ।
उनीहरु एयर अरवियाको उडानबाट शारजहाबाट नेपाल आएको प्रहरीको भनाइ छ ।
यसअघि प्रहरीले मलद्वारामा लुकाएर ल्याउँदै गरेको सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको थियो ।