विर्तामोड । विर्तामोडको मुक्ति चोकको सौन्दर्य बढाउनका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले विभिन्न कामहरु गर्दै आएको छ । सडकमा डिभाइडर राख्नदेखि ट्राफिक कन्ट्रोल गर्नका लागि पार्किङलाई व्यवस्थित गरिरहेको छ । तर जग्गा अभावका कारण भनेजस्तो काम नसकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताएका छन् ।
पछिल्लो समयमा झापा विर्तामोडस्थित पशुपति साडी सेन्टरका प्रोपाइटर अनिल बिहानीले विर्तामोडको मुक्ति चोकका लागि गमला राख्ने स्ट्याण्डको निर्माण गरिदिएका छन् ।
हेर्दा सानो सहयोग देखिए पनि उक्त स्ट्याण्डले विर्तामोडको सौन्दर्य तथा ट्राफिक नियन्त्रण गर्न निकै महत्वपूर्ण योगदान पुर्याउने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताए ।
उक्त स्ट्याण्डलाई बिहानी, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गिरी, दृष्टि आँखा अस्पतालका अध्यक्ष राम उप्रेती तथा इलाका प्रहरी कार्यालय विर्तामोडका प्रमुख प्रहरी नायब उपरीक्षक खडगबहादुर खत्रीले बिहीबार मुक्ति चोकमा राखेका छन् ।