बिर्तामोड । राष्ट्रिय मानवअधिकार आयोगका पूर्वाञ्चल निर्देशक कोषराज न्यौपानेलाई सम्मान र अभिनन्दनसहित विदाई गरिएको छ ।
झापाका मानवअधिकारवादी संघसंस्थाले मङ्गलबार आयोजना गरेको कार्यक्रममा न्यौपानेले आफू झापाली भएकाले विदाई भन्दापनि सम्मान मात्रै भनिदिन आग्रह गरे । पूर्वमा ६ वर्ष बस्दा सबैभन्दा धेरै सहयोग र सद्भाव झापाबाट पाएको न्यौपानेले स्मरण गरे । ०६७ फागुनमा राष्ट्रिय मानवअधिकार आयोग पूर्वाञ्चलको जिम्मेवारी सम्हाल्न आएका उनी काठमाडौँ सरुवा भएका हुन् ।
मानवअधिकार सञ्जाल झापा, मानवअधिकार प्रतिष्ठान, आइडीएफ नेपाल, बालिका तथा किशोरी सञ्जाल, साना हातहरु नेपाललगायत आधादर्जन अधिकारवादी संघसंस्थाले न्यौपानेको विदाई गरेका हुन् । कार्यक्रममा अधिकारकर्मी लालराज सुवेदी, विष्णु खरेल, रुपक खनाल, सूर्यप्रसाद उप्रेतीलगायतले बोलेका थिए । न्यौपानेले सरकारी कर्मचारीभन्दा निष्ठावान अधिकारकर्मी र सहपाठीको जस्तै काम गरेको उनीहरुले बताए ।
न्यौपानेकै सल्लाह र अग्रसरताले झापामा अधिकारकर्मीहरु सङ्गठित भएको उनीहरुको भनाई छ । सोही कार्यक्रममा आइडीएफ नेपाल लगायतका संस्थाले सार्वजनिक यातायातमा महिलाविरुद्ध हुने दूव्र्यवहारको अवस्थासम्बन्धी एकदिने अन्तरसम्वाद पनि आयोजना गरेका थिए । अाजकाे प्रतिदिन दैनिकमा खबर छ ।