बिर्तामोड । झापा मेचीनगर १३ बमबारीका पानीलाल राजवंशीद्वारा लिखित कोच राजवंशीको छोटो ऐतिहासिक परिचय पुस्तक विमोचन भएको छ ।
वागडुम्का पब्लिकेशन प्रालिले पहिलो कृतिका रुपमा प्रकाशन गरेको पुस्तकको विहीवार बिर्तामोडमा विमोचन गरिएको हो । लेखक राजवंशीले विभिन्न इतिहास, धर्मग्र्रन्थ, रचनाहरु, स्वदेशी तथा विदेशी विद्वानहरुले गरेका टिका टिप्पणीहरुका आधारमा पुस्तक लेखेको बताएका छन् ।
उनले कोचहरुको सांस्कृतिक ग्रन्थहरुलाई प्रमाण–प्रमेयका रुपमा आत्मसात् गर्दै राजवंशीहरुको इतिहासलाई ठोस ग्रन्थकारका रुपमा प्रस्तुत गर्न खोजेका छन् ।
नेपाल, भारत र बङ्लादेशमा छरिएर रहेका राजवंशी जातीहरुको इतिहास चिनाउन यो ग्रन्थले सकारात्मक सहयोग पुर्याउने लेखक राजवंशीको भनाई छ ।
किताव अध्ययनबाट राजवंशी समुदायले आफ्नो इतिहास बारे केही जानकारी पाउने लेखक राजवंशीले बताए ।
वागडुम्का पब्लिकेशनका अध्यक्ष मुनिलाल राजवंशीको अध्यक्षतामा भएको पुस्तक विमोचन कार्यक्रम पूर्व प्रध्यापक डा.द्रोणकुमार उपाध्यायको प्रमुख आतिथ्यता भएको थियो ।
प्रमुख अतिथि उपाध्यायले पुस्तकको विमोचन गरेका थिए । सोही अवसरमा पुस्तक लेखक राजवंशीलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा लेखक राजवंशी, प्रदेश सांषद पूर्णसिंह राजवंशी, कोचिला एकता मोर्चाका अध्यक्ष दिनेश राजवंशीलगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा झापा, मोरङ, भारत लगायतका स्थानबाट राजवंशी समुदायका अगुवाहरुको उपस्थिति रहेको थियो ।