विर्तामोड । विगत केही दिनदेखिको अविरल बर्षाका कारण झापाका दर्जनाैँ घर डुबानमा परेका छन् । झापाका मुख्य नदीहरु रतुवा, माइ, विरिंग, हँडिया, निन्दा तथा मेचीमा पानीको बहाव बढेका कारण झापाका धेरै भाग डुबानमा परेका हुन् ।
पूर्वको ब्यापारिक केन्द्र मानिएको झापाको विर्तामाेड स्थित अन्दुवा खोलाको भंगालो फुटेर शहर पसेपछि विर्तामोड नगरपालिकाका विभिन्न भाग डुवानमा परेको छ । जसका कारण सयौं घर परिवार विस्थापित भएका छन् ।

त्यसैगरी मेची नदीमा पानीको बहाव बढेपछि भद्रपुर नगरपालिकाका डुबानमा परेका बस्तीबाट सर्वसाधारणलाई सुरक्षित स्थानमा लैजाने कार्य भइरहेको भद्रपुर नगरपालिका कार्यालयले जानकारी दिएको छ ।
लगातारको बर्षाले मेची, हँडिया, तथा देउनिया नदी तथा झिल्मिलिया पैनीमा पानीको बहाव बढेपछि झापा भद्रपुर नगरपालिका विभिन्न भाग डुबानमा परेको भद्रपुर नगरपालिकाका कार्यकारी अधिकृत सन्तोष घिमिरेले जानकारी दिए । डुबान क्षेत्रमा परेका स्थानीयबासीलाई नजिकैका विद्यालयमा स्थानान्तरण गर्न प्रहरी तथा नगरपालिकाका कर्मचारीहरु परिचालित भएको कार्यकारी अधिकृत घिमिरेले बताए ।
त्यसैगरी भद्रपुर विर्तामोड सडक खण्ड अन्तर्गतको हर्चना खोला गाउँ तिर पसेपछि सडक अवरूद्ध भएको छ । खोलामा आएको बाढीका कारण उक्त सडकको दाँया बाँया बाटो काटेर पानी अनियन्त्रित भएर सडकमा पसेको छ । उक्त ठाउँमा रहेको पुलको बाटो कटान भएपछि दक्षिण झापाका भद्रपुर, केचनाबाट विर्तामोड जानबाट सर्वसाधारण बञ्चित भएका छन् ।

नेपाल रेडक्रस सोसाइटी झापाका अनुसार भद्रपुर नगरपालिकाका वडा नं ११ र १० मा गरी करीब ४० घर डुवानमा परेका छन् । अविरल वर्षाका कारण भद्रपुर नगरपालिका वडा नं ५ का १२५ घरपरिवार डुबानमा परेका छन् । जोखिममा परेका ती घरपरिवारको उद्धार कार्यमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली आज बिहानैदेखि जुटेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरूलाई नजिकैको भद्रपुर हाइस्कुलमा सारिएको छ ।

जिल्लाका कनकाई नगरपालिकाको तुलसीबारी र चप्रामारी, घेरावारी, चकचकी, राजगढ, शिवगञ्ज, पाँचगाछी, कोहोबरा, कोरोबारीलगायतका क्षेत्रहरु जलमग्न छन् । कनकाई नदीमा आएको बाढीले कुमरखोदमा ४२ परिवार जाेखीममा रहेकाे रेडक्रस झापाले जानकारी दिएकाे छ । झापाको दक्षिणी गाबिस चकचकीमा एक सय घर परिवार बिस्थापित भएका छन् । चकचकी गाविस वडा नम्बर ४, ८, र १ स्थित घाग्रा खेलामा आएको बाढीले ३८ घर बिस्थापित भएको जनाइएको छ ।
एककाे उद्धार
त्यसैगरी देउनिया नदीमा आएको बाढीले गरामनी ३ स्थित सुकुम्बासी टोल डुवानमा परेको छ । नदी किनारमा रहेको एक दर्जन बढी घर डुवानमा परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । चारैतिर पानी पसेर घर डुवानमा परेका स्थानीय ५५ बर्षीया समरबहादुर परियारलाई नेपाल प्रहरी र स्थानीय युवाकाे सहयाेगमा उद्धार गरेकाे झापाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए । परियार कुखुरा जोगाउन गएको बेला नदीको सतह बढेपछि रातभर आपको रुखमाथी चढेर बसेको प्रहरीले जनाएको छ ।