काँकरभिट्टा। पशु क्वारेन्टाइन चेकपोस्ट काँकरभिट्टाका पशु स्वास्थ्य प्राविधिक गंगाप्रसाद यादव भारतबाट आयात गरिएका माछाको भूँडी थिचेर खान योग्य छ छैन हेर्दै थिए । यो उनले माछा जाँच गर्ने नियमित प्रक्रिया हो । त्यस्ता आयात गरिएका माछा न कुनै प्रयोगशालामा लगेर जाँचिन्छ न त्यस्ता माछा मानव स्वास्थ्यलाई हानी पुग्ने पदार्थ छ छैन भनेर जाँचिन्छ ।
यादवले भारतबाट आयात गरिएका माछाको स्वास्थ्य परीक्षण छामेर वा सुँघेर गरिने गरिएको बताए । उनले भने, ‘हामी माछाको भूँडी थिचेर र सुँघेर थाह पाउँछौं माछा खान योग्य छ कि छैन भनेर ।’
राजधानी काठमाण्डौमा मन्त्रीकै अग्रसरतामा मासुबजारको अनुगमन भए पनि भारतसंग जोडिएका सीमा नाकामा भारतबाट आयात गरिएका माछा पशु क्वारेन्टाइन चेकपोस्टका कर्मचारीले सुँघेर वा छामेर क्वारेन्टाइन पास गर्ने गरेका छन् । भन्सारका अधिकारीहरु समेत पशु क्वारेन्टाइन चेकपोस्टको परीक्षणप्रति सन्तुस्ट देखिँदैनन् । त्यस्ता माछा खानको लागि कतिको स्वस्थ्यकर छ भन्ने थाह नपाइ उपभोक्ताले उपभोग गरिरहेका छन् । यादवका कुरा सुन्दा छामेर वा सुँघेर गरिने परीक्षण आफूहरु स्वयं समेतले गर्नसक्ने सर्वसाधारण उपभोक्ताको भनाई छ । तर उक्त क्वारेन्टाइन चेकपोस्टमा न कुनै प्रयोगशाला छ न दक्ष जनशक्ति । राजधानी काठमाण्डौमा मन्त्रीकै नेतृत्वमा खाद्यबस्तुको अनुगमन हँदा सीमा नाकामा रहेका सरकारी क्वारेन्टाइन चेकपोस्ट मै आयातित खाद्यबस्तुको परीक्षणमा लापरवाही हुने गरेको मेची उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष बिजय डालमियाँ बताउँछन् । उनले भने, ‘सरकारले मानव स्वास्थ्यमा अत्यन्तै ठूलो खेलबाढ गरेको छ । माछा खान योग्य छ कि छैन भन्ने कुरा सुँघेर वा थिचेर थाह पाउने कुरा हो र । त्यो त सर्वसाधारण जसले पनि गर्नसक्छ ।’
कुनै समय भारतका विभिन्न ठाउँबाट नेपाल आइपुग्न धेरै दिन लाग्ने भएकाले भन्सारले शंका गरेका त्यस्ता माछा क्वारेन्टाइन परीक्षणका लागि पठाउँदा खान योग्य भएको रिपोर्ट आउने भएकाले क्वारेन्टाइन चेकपोस्टमा हुने परीक्षणको विश्वस्नीयता गुमेको भन्सारका अधिकारीहरु बताउँछन् । मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भीमप्रसाद अधिकारीका अनुसार क्वारेन्टाइन चेकपोस्टहरुलाई स्तरोन्नति गर्न आवश्यक छ । उनले भने, ‘उपभोक्ता धेरै सजग भइसकेकाले क्वारेन्टाइन चेकपोस्टका जाँच प्रविधिको स्तर बढाउनै पर्छ ।’
अनौपचारिक कुराकानीमा भन्सारमा जाँच पासका लागि ल्याइएका माछा गन्हाउने नै भए पनि पशु क्वारेन्टाइन चेकपोस्टमा पास हुने गरेको भन्सारका अधिकारीहरुले बताउने गरेका छन् । पशु क्वारेन्टाइन चेकपोस्टले भने त्यस्ता माछालाई क्वारेन्टाइन पास गरिदिइ नमुना संकलन गरेर विराटनगरको प्रयोगशालामा पठाउने गरेको जनाएको छ । तर त्यस्को रिपोर्ट आउन कम्तीमा एक महिना लाग्ने गरेको छ ।आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।