काठमाण्डौं । भूकम्पपछिको पुनर्निर्माणका लागि खटिएका दुई हजार पाँच सयभन्दा बढी इन्जिनियर बाटोबाटै काम गरिरहेका छन् । सुरक्षित भवन बनाउन खटिएका उनीहरु आफू बस्ने भवन नहुँदा सम्पर्कका भरमा बाटोबाटै स्थानीयका घरमा पुगी काम गर्न बाध्य भएका हुन् ।
द्वन्द्वकालदेखि सदरमुकाम बस्ने बानी परेका सचिवका कारण पनि इन्जिनियर बाटोबाटै काम गर्न बाध्य भएका हुन् । सरकारले वैशाख दोस्रो सातादेखि भूकम्प प्रभावित १४ जिल्लामा एक हजार तीन सय ४६ इन्जिनियर, ६ सय ५० सबइन्जिनियर र पाँच सय ७५ सहायक सब इन्जिनियर खटाएको छ ।
सहरी विकास मन्त्रालयका पवक्ता शिवहरि शर्माले गाविसचिव गाउँमा नबसेपछि इन्जिनियरहरु भूकम्प प्रभावित जिल्लामा बाटोबाटै काम गर्न बाध्य भएको बताए ।
उनले भने, ‘द्वन्द्वमा भत्किएका गाविस भवन अझैसम्म नबनाउँदा गाविस सचिव सदरमुकाम बसिरहेका छन् । इन्जिनियर सचिवसँगको समन्वयमा पुनर्निर्माणमा संलग्नु हुनुपर्ने हो । भवन नभएपछि इन्जिनियरले कागजात कहाँ राख्ने ?’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।