उर्लाबारी, ७ साउन । उर्लाबारी–६ मङ्गलबारेकी चार वर्षीया बालिकाको तौल असामान्य भएपछि चिकित्सकसमेत आश्चर्यमा परेका छन् । स्थानीय थापाचौकका सञ्जिव धिमाल र रुकमाया धिमालकी छोरी लीजाको तौल उमेर अनुसार अस्वभाविक छ । यी चार वर्षीया बालिकाको तौल ४० किलो छ ।
सामन्यतः चार वर्षका बालबालिकाको तौल १५ देखि २० किलो हुनुपर्छ । लीजाको तौल अस्वभाविक हुनुका कारणबारे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकले समेत ठम्याउन नसकेको बाबु सञ्जिव धिमालले बताए । प्रतिष्ठानमा छोरीको स्वास्थ्य परीक्षण गर्दा सामान्य पाइएको धिमालले बताए । चिकित्सकले बालिकाको तौल बढ्नुको कारण ‘जिनेटिक म्यूटेसन’ हुनसक्ने भन्दै त्यसको अनुसन्धान नेपालमा सम्भव नभएको बताएका छन् ।
लीजा स्थानीय सनसाईन बोर्डिङ सेकेण्डरी स्कूलमा एलकेजीमा अध्ययनरत् छिन् । मिजासिली स्वभावकी लीजालाई घर–छिमेकमा मात्र नभई विद्यालयमा पनि सबैले माया गर्छन् । बिहान सबेरै उठेर चिया बिस्कुट खाएर नजिक ट्यूसन पढ्न जान्छिन् उनी । मोटो शरीर भएपनि घर नजिकै विद्यालय हुँदा उनलाई पढ्न जान सहज छ । ट्यूसन पढेर घर फकेर्पछि उनी केहीबेर खेल्छिन् । खाना खाएपछि विद्यालय जानु उनको दैनिकी हो ।
प्रायः विद्यालयबाट घर फर्कँदा लीजाको ब्याग उनका साथीहरुले बोकेर ल्याइदिने आमा रुकमाया बताउँछिन् । लीजालाई पढ्न र होमवर्क गर्न फराकिलो ठाउँ चाहिन्छ । प्रायः उनी ढल्केर पढ्छिन् । अन्य बालबालिकाको खान्की र लीजाको खान्की उस्तै भएको बुवा सञ्जिवले बताए । लीजा प्रत्येक रात तीन लिटर पानी पिउँछिन् । फलफूल र चक्लेट उनलाई मनपर्छ ।
जन्मँदा उनको तौल तीन केजी ९ सय ग्राम थियो । पछि उनको तौल असामान्य तरिकाले बढेको हो । शरीरको तौल बढ्दै जाँदा सुरुमा उनका अभिभावक आत्तिएका थिए । बालिकाको शरीरमा कुनै रोगसमेत नदेखिएपछि उनलाई के भएको हो भनेर धिमाल परिवार चिन्तित छन् । आजको प्रतिदिन दैनिकमा खबर छ ।