किरात धर्म अनुसार ८६औं समाज सुधार दिवस आज मनाइदैछ । किरात धर्मगुरु तथा नेपालका १६औं राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनले विक्रम सम्बत् १९८८ साल बैशाख २४ गते पाँचथर जिल्लाको सिलौटीमा १० लिम्बुवान र १७ थुमका अगुवा बुद्धिजीवि बोलाई (महाचुम्लुङ गरी) धर्मिक सुधारकालागि १० बुँदा जारी गरेका थिए । त्यसै दिनको सम्झनामा किराँती समूदायले हरेक वर्ष वैशाख २४ गते किराँत समाज सुधार दिवस मनाउँदै आएका छन् ।
फाल्गुनन्द लिङदेनले जारी गरेका बुँदालाई किराँती समुदायले सत्य धर्म मुचुल्काका रुपमा स्विकार गरेकाछन् । ती १० बुँदा किराँती समूदायमा कायम रहेका कुरीति, कुसंस्कारहरुको अन्त्य गर्न कोशेढुंगो सावित भयो । उक्त बुँदाहरुमा सबैले शान्तिको बाटो हिड्नु पर्ने, कसैलाई हिंसा गर्न नहुने, मिल्दोजुल्दो रुपमा संस्कृति परम्परा चलाउनु पर्ने, अर्काको घर परिवार बिगार्नु नहुने, जाँडरक्सी खान नहुने जस्ता सुधारका प्रमुख बुँदाहरु थिए ।
अज्ञानतावश् कुसंस्कारमा डुबेका किराँती समुदायलाई माथि उठाउन महत्वपूर्ण योगदान पुर्याउने फाल्गुनन्द लिङदेनको जन्म जयन्ती कार्तिक २५ गते पर्दछ । यस दिनलाई समेत विशेष दिनका रुपमा मनाउने नेपाल सरकारले निर्णय गरिसकेको छ । फाल्गुनन्दको जन्म १९४२ साल कात्तिक २५ गते इलाम चारखोलाको चुक्चिनाम्बामा भएको थियो ।
उतिबेला किराँत समूदायमा ब्याप्त मद्यपानको समस्याले जरा गाडेको थियो र यस समस्यालाई सुधार गर्न फाल्गुनानन्दले चुम्लुङ (सभा) डाँके । बिकृतिका कुरा उठाए र त्यसलाई रोक्न सामाजिक बन्धनयुक्त १० बुँदे दस्तावेज तयार पारे ।
नेपालको पूर्वी पहाडी श्रेत्रहरुलाई किराँतहरुको घना वसोवासको क्षेत्रका रुपमा लिन सकिन्छ, सुनसरी जिल्लाको धरानमा रहेको बुढासुब्बामा भएको टुप्पो नभएको वाँसा रुखहरु अन्तीम लिम्बु राजा वुद्धि कर्ण राय खेवागंले एकैफेरमा तीर हानेर हात्ती मार्न नसकेको झोँकमा जथाभावी तीर चलाएर वाँसको टुप्पाहरु छिनाएको भन्ने विश्वाश पनि छ ।
२००७ सालको प्रजातन्त्रको उदय पछी लिम्बुराजाहरुलाई दिईएको स्वायत्त अधिकार नेपाल अधिराज्यमा अन्तर्निहित राखिएको हो, लिम्बु भाषामा हाँग भन्नाले राजा भन्ने बुझाँउछ त्यपछी लिम्बु हाँगहरु मुलधारको शासन ब्यवस्थामा नआएको पाईन्छ ।
किराँती समूदायको धनुवाँण लगायतका प्राचीन जीवनशैलीहरुलाई आधार मानेर विश्वप्रसिद्ध कम्प्यूटर खेल निर्माण कम्पनी यूनिसफ्टले फार क्राई फोर भन्ने भिडियो गेम पनि निर्माण गरेको छ । -हाम्राेपत्राेबाट