झापा । जिल्लाको विकासमा सरोकार राख्ने सरकारी निकायले यसपटक पनि झापामा बजेट फ्रिज गराएका छन् । आर्थिक बर्षको अन्त्य असार मसान्तमा नभएका, जेनेतेने हुँदै गरेका वा हुँदै नभएका कामको भुक्तानी गरेर पनि कूल बजेटको करीब ९ प्रतिशत रकम खर्च गर्न भ्याएनन् ।
झापाका लागि केन्द्रबाट विनियोजित बजेटमध्ये ९ प्रतिशत बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय झापाले जानकारी दिएको छ । बजेट गर्ने कार्यालयहरुमा विकासमा प्रत्यक्ष सरोकार राख्ने सरकारी निकायहरु रहेका छन् । तर कोलेनिकाले दिएको तथ्यांकमा जिल्ला विकास समितिको आन्तरिक र भारतीय राजदूतावासमा प्राप्त बजेट समावेश गरिएको छैन ।
झापामा फ्रिज भएको बजेट समग्र बजेटको ९ प्रतिशत हो । आर्थिक वर्ष ०७१/७२ मा झापामा ५ प्रतिशत बजेट फ्रिज भएको थियो ।
आर्थिक बर्ष २०७२/७३ मा कूल विनियोजित बजेटमा ७० करोड ३२ लाख ८५ हजार ९ सय ४ रुपैयाँ बराबरको बजेट फ्रिज भएको झापाका कोष तथा लेखा नियन्त्रक ज्ञानेन्द्रराज ओझाले बताए । झापाको स्थानीय निकाय तथा विषयगत कार्यालयहरुको एकीकृत विनियोजित बजेटमध्ये उक्त रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रक ओझाले जानकारी दिए ।
ठूला-ठूला विकासे अड्डाहरुले बजेट खर्च गर्न नसक्दा बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालय झापाले जनाएको छ ।
आर्थिक वर्ष ०७२/७३ मा जिल्लाको चालु तर्फको कुल बजेट ५ अर्व ५० करोड ५९ लाख ९३ हजार ६ सय ५७ रुपैयाँ मध्ये निकासा तर्फ ५ अर्ब २३ करोड ६१ लख ७ हजार ४ सय २२ रुपैयाँ खर्च भएको छ भने पुँजीगत तर्फ २ अर्ब ३५ करोड ३७ लाख ६७ हजार ४७ रुपैयाँमध्ये निकासा तर्फ १ अर्ब ९२ करोड, ३ लाख ६७ हजार ३ सय ७८ रुपैयाँ खर्च भएको कोष तथा नियन्त्रक कार्यालय झापाका ओझाले बताए ।
पुँजीगत र चालु कुल बजेट तर्फ ७ अर्ब ८५ करोड ९७ लाख ६० हजार ७ सय ४ रुपैयाँमध्ये ७ अर्ब १५ करोड ६४ लाख ७४ हजार ८ सय रुपैयाँ खर्च भएको छ ।
विकासे अड्डा तथा जनताले प्रत्यक्ष सरोकार राख्ने कार्यालयहरुमध्ये सबै भन्दा बढी जिल्ला विकास समिति झापाको बजेट फ्रिज भएको कोलेनिकाको तथ्यांकले देखाएको छ । जिल्ला विकास समितिको आन्तरिक स्रोत र विदेशी अनुदान बाहेक पुँजीगत र चालु गरी १ अर्व १८ करोड ५१ लख ३६ हजार २ सय ८३ रुपैयाँमध्ये १५ करोड ९९ लाख ५० हजार १ सय ५६ रुपैया बराबरको बजेट फ्रिज भएको छ । जिल्ला प्राविधिक कार्यालय झापाको १० करोड ६१ लाख १ हजार कुलबजेट मध्ये ५ करोड १२ लाख ३३ हजार ८ सय ५५ रुपैया बराबरको बजेट फ्रिज भएको छ । त्यस्तै डिभिजन सडक कार्यालय दमकको ४९ करोड ३१ लख २३ हजार कुल बजेट मध्ये ७ करोड ४० लाख २८ हजार ७ सय ५४ रुपैया बराबरको बजेट फ्रिज भएको छ ।