विर्तामोड । बंगलादेश सरकारले दिएको अनुदानको चामल लिएर आएका १७ वटा ट्रक नेपाल खाद्य संस्थानका एकजना सरुवा भएर गएका कर्मचारीका कारण खाद्य संस्थानमा अनलोड हुन सकेका छैनन् । नेपाल खाद्य संस्थानको विर्तामोड गोदाममा थन्क्याउन चामल लिएर आएका ति ट्रक संस्थानकै पूर्व स्टोर किपर यज्ञप्रताप अधिकारीले संस्थानमा काम गर्ने बाहेकका मजदुरलाई संस्थानको हाताभित्र प्रवेश गर्न नदिएपछि एक दिनमा बढीमा ६ वटा ट्रकमात्र अनलोड हुन पाएका छन् । आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।
संस्थानका मेची अञ्चल प्रमुख मार्कण्डेयप्रसाद जैसवालले हालै सरुवा भएर अन्यत्र गएर पूर्व स्टोरकिपर अधिकारीको असहयोगका कारण समयमा ट्रक अनलोड हुन नपाएको बताए । उनले भने, ‘पहिला उहाँ हुँदा बाहिरका मजदुर लगाएर भए पनि खाद्यान्न अनलोड गराउनु हुन्थ्यो । अहिले उहाँ हुनुहुन्न । तर बाहिरका मजदुर पनि आउन दिनुभएको छैन ।’ अधिकारी नेपाली कांग्रेस आबद्ध ट्रेड युनियन कांग्रेस झापाका अध्यक्ष समेत हुन् ।
बंगलादेशबाट चामल ढुवानीको जिम्मा लिएका ठेकेदार श्याम प्रसाईंले अधिकारीले बाहिरका मजदुर ल्याएर काम गर्न नदिएको भन्दै आफू मारमा परेको बताएका छन् । उनले भने, ‘हामीले तिनै ट्रक परिचालन गरेर अन्य काम पनि गर्नुपर्छ । तर अधिकारीजीले यि ट्रकहरु बन्धक बनाइदिए ।’ नाम नखुलाउने सर्तमा खाद्य संस्थानका एकजना कर्मचारीले उनलाई विर्तामोडबाट सरुवा गरिदिएको रिसिइबीका कारण बाहिरका मजदुर आउन नदिएको बताए ।
ट्रेड युनियन कांग्रेसका झापा अध्यक्ष तथा पूर्व स्टोरकिपर अधिकारीले आफूलाई गरेको अन्यायपूर्ण सरुवा नसच्चिन्जेल आफ्नो तर्फबाट कुनै सहयोग नहुने बताए । उनले गत बर्ष बंगलादेशले दिएको चामल साता दिन मै अनलोड गराएको बताउँदै भने, ‘मजदुरको आफ्नै अधिकार हुन्छ । मेरो सरुवा नसच्चिन्जेल बाहिरका मजदुर ल्याएर चामल अनलोड गराउन दिन्न ।’
बंगलादेश सरकार विपद व्यवस्थापन तथा राहत मन्त्रालयका निर्देशक मोहमद अनिसुर रोहमानले गत असार ११ गते शनिबार झापाका सहायक प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटालाई दोस्रो चरणको राहतको चामल हस्तान्तरण गरेका थिए । उक्त अनुदानको चामल असार १२ गतेदेखि नेपाल आउन सुरु गरेको हो ।