बिर्तामोड । वीरता जेसीज बिर्तामोडले दुर्लभ प्रजातिको हुलिच कनकाई नगरपालिका–२ स्थित जामुनबाडी सामुदायिक वन उपभोक्ता समूहलाई बुझाएको छ ।
वीरता जेसीजले जैविक विविधताको संरक्षणमा टेवा पुर्याउन जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रमा संरक्षणका लागि उक्त हुचिल बुझाएको हो ।
बिर्तामोड–१ वीरता जेसीजको सचिवालय नजिकै गणेश चौहानको घरमा बेबारिसे अवस्थामा फेला परेको हुचिललाई संरक्षणका लागि जामुनबाडी सामुदायिक वनका अध्यक्ष ख्याम सिटौला र कनकाई नगरपालिका–२ का वडा अध्यक्ष पर्शुराम गिरीलाई शुक्रबार समूहकै कार्यालयमा पुगेर बुझाइएको हो । वीरता जेसीजका अध्यक्ष एकराज गिरीको नेतृत्वमा गएको टोलीले हुचिल बुझाएको थियो ।
टोलीमा वीरता जेसीजका कानूनी सल्लाहकार दिवाकरलाल चौधरी, महासचिव विनोद पाण्डे, कोषाध्यक्ष जीवनकुमार खड्का, प्रकरण निर्देशक विशाल थापा तथा गणेश चौहानको सहभागिता रहेको थियो ।
युवालाई वातावरण र जैविक विविधताको संरक्षणमा प्रेरित गर्दै जिम्मेवारी बोध गराउन वीरता जेसीजको अगुवाईमा भएको उक्त कार्यको बिर्तामोड नगरपालिकाका प्रवक्ता तथा वडा नं। १ का अध्यक्ष अग्नीप्रसाद पाण्डेले प्रशंसा गरेका छन् ।
बिर्तामोडमा हुचिल फेला परेपछि उनले दुर्बल प्रजातिको उक्त चराको संरक्षण जरुरी रहेको समेत बताए । यही मे २२ तारिखमा विश्व जैविक विविधता संरक्षण दिवस समेत मनाइँदै छ ।