गौशाला । सुन्दा अचम्म र अपत्यारीलाे लाग्न सक्छ । तर नेपालमा एउटा यस्ताे गाउँ छ जुन ठाउँका मानिस ४० वर्ष भन्दा बढी बाँच्न सक्दैनन् ।
त्याे ठाउँ हाे, महोत्तरी जिल्लाको गौशाला नगरपालिका–७ स्थित मुसहर मुसहर समुदायकाे मनहर्वा बस्तीका । १२५ घरधुरी रहेको त्यहाँका मुसहर समुदायका पुरुषको औषत आयु मात्र ४० वर्ष रहेको मनहर्वा बस्तीका महिला मुसहरले बताएका छन् ।
उनीहरुले मनहर्वाका मुसहर दैनिक अत्यधिक रक्सी खाने गरेका कारण उनीहरु ४० वर्षभन्दा बढी बाँच्ने नगरेको स्थानीय मुसहर महिला निर्मला सदाले बताइन् ।
त्यहाँका मुसहर बिहान उठ्ने बित्तिकै रक्सी खाने, दिनभरि काम गर्ने, काम गर्दागर्दै दिउँसै रक्सी खाने र फेरि बेलुका कमाएर ल्याएको पैसाको रक्सी खाएर सुत्ने गरेका कारण उनीहरु ४० वर्षमै मर्ने गरेको स्थानीय तुलसी सदाले बताइन् ।
दुई वर्ष पहिले मात्र ३३ वर्षको उमेरमा अत्यधिक रक्सी खाएकै कारण स्थानीय दुखा सदाको मृत्यु भएको सुनाउँदै उनकी पत्नी इन्दु सदाले यहाँका कुनै पनि मुसहर ४० वर्षभन्दा बढी बाँच्ने नगरेको एकमात्र कारण अत्यधिक रक्सी सेवन गर्नु रहेको बताइन् ।
मनहर्वा बस्तीका पुरुष मुसहर दिनरात रक्सी खाने, झै झगडा गर्ने, श्रीमती कुट्ने, बालबालिकालाई नपढाउने र दैनिक रोजगारीबाट आर्जन गरेको अधिकांश पैसा रक्सीमा खर्च गर्नाले उनीहरुको अवस्था अति नै दयनीय रहेको महिलाले सुनाए ।
त्यस बस्तीमा कुनै पनि मुसहरको घरमा टिनको छानो वा पक्की घर छैन । सबैका घर खर, बाँस तथा झारपातबाट बनेको र सबैको छानो चुहिने अवस्थाका छन् ।
दैनिक रक्सी खाएका पतिबाट पीडित तथा अनेकौँ समस्याबाट पिल्सिएका त्यस बस्तीका महिलाले यस बस्तीमा रक्सीमाथि प्रतिबन्ध लगाइदिन स्थानीय प्रशासन तथा सम्बन्धित निकायसँग माग गरेका छन् ।