काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई बुद्ध जयन्तीको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
२५६२ औं बुद्धजयन्तीको अवसरमा एक सन्देश प्रकाशित गर्दै नेपालको भूमिमा जन्मेर मानव कल्याणका लागि ठूलो योगदान दिनुभएका गौतम बुद्धका उपदेशहरु विश्वमै लोकप्रिय रहेको बताउनुभएको छ ।
‘‘शान्तिका अग्रदूत गौतम बुद्धले सम्पूर्ण मानव जगतको कल्याण गर्न गृहत्याग गरी कठोर परिश्रमबाट प्राप्त गर्नु भएको बोधी ज्ञान आजसम्म पनि उत्तिकै शास्वत छ । बुद्ध विचारले अहिंसा, सदभाव, मानव कल्याण र मानिसकै जीवनमा शान्तिको बाटो देखाएकाले नै उहाँका विचारहरु विश्वभर यति धेरै लोकप्रिय हुन सकेका हुन्’’ शुभकामना सन्देशमा भनिएको छ ।
सन्देशमा गौतम बुद्ध नेपालको भूमिमा जन्मेर मानव कल्याणका लागि ठूलो योगदान दिनु भएकाले उहाँप्रति हामीले गर्व गर्न सक्ने बताउँदै बुद्ध हामी सबै नेपालीहरूको लागि गर्वका प्रतीक हुनुहुन्छ प्रधानमन्त्रीले सन्देशमा उल्लेख गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले बुद्ध धर्मको विश्व भातृत्वको भावनालाई आत्मसात गर्दै सबैलाई मिलेर अगाडि बढ्न प्रेरणा मिलोस् र सबैको कल्याण होस् भन्ने शुभकामना पनि व्यक्त गर्नुभएको छ ।