काठमाण्डाैं ।
७६ वर्षीय खड्गबहादुर खड्कालाई अब तातोपानी क्षेत्रमा फेरि बस्ती बस्छ र पुरानै रुपमा फर्कन्छ भन्नेमा शंका छ। तातोपानी-१ कोदारीका खड्का सर्वस्व गुमाएका भन्दा पनि बस्तीको अस्तित्व मेटिन लागेकोमा चिन्तित छन्। अन्नपूर्ण पोस्टमा समाचार छ।
असार २१ गते राति अचानक बाढी आउँदा भागेर ज्यान जोगाएका खड्का बाँचेकोमा नै अचम्मित छन्। घर छाडेको केही मिनेटमै बाढी बस्तीमा पसेपछि चौकीडाँडा पुगेका खड्का भूकम्पपछि कमै कोदारी बसे। संयोग घर आएकै दिन उनले त्यो त्रासको सामना गर्नु पर्यो।
चौकीडाँडामा पट्यार लाग्दो दिन गुजारिरहेका उनी भोटेकोशीको एकै झट्काले आफूहरुलार्इ सुकुमबासी बनाएको बताउँछन्। ‘भएको सबै भोटेकोसीले लग्यो,अब कसरी यहाँको बास होला ररुु खड्काले भने,’अब यहाँको विकल्प खोज्नु पर्छ।’ खड्कामात्र होइन कोदारीकै फुर्पु तामाङ पनि अब फेरि यही ठाउँमा बस्ने कल्पना गर्न सक्दिनन्।
चौकीडाँडामा राहत आएको खानाको भरमा बसिरहेकी उनलार्इ अब परिवार कहाँ राख्ने भन्ने चिन्ताले सताउन थालेको छ। बाढिअघि नै आएको कम्पनले घर छाडेकी फुर्पुको घर पनि भोटेकोशीमा मिसिने आज हो कि भोलि नै भएको छ।