काँकरभिट्टा । बंगलादेश, भारत र नेपालविचको त्रिदेशीय बस सेवाको परिक्षण स्वरुप बंगलादेशबाट छुटेका दुईवटा बस बुधबार नेपाल आइपुगेका छन्।

तीन देशका ५० जना सरकारी अधिकारीहरुलाई लिएर बंगलादेशको ढाकाबाट हिडेका बस पूर्वी नेपालको काँकरभिट्टा आइपुगेका हुन्।
बंगलादेश, भुटान, भारत र नेपालविच १५ जुन २०१५ मा भएको सम्झौता अनुरुप सोमवार विहानबाट त्रिदेशीय अन्तर्राष्ट्रिय बस सेवाको परीक्षण सवारी शुरु भएको थियो ।

बंगलादेश, भारत र नेपालले एक अर्कामा यातायात सेवालाई सहज बनाउनका लागी बंगलादेशबाट उक्त सेवाको परिक्षण सुरु गरिएका हुन्।

परीक्षणमा सञ्चालन भएका बस विहीबार काठमाडौं पुग्ने यात्रामा रहेका मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले जानकारी दिए।

बुधबार दिउँसो उक्त बस मेची पुलदेखि झापाका सर्वसाधारणले स्वागत गर्दै नेपाल प्रवेश गराएका थिए। तर तीन देशविचको यात्रु बसको नियमित तथा स्थायी सञ्चालन कहिलेदेखि हुने भन्ने निश्चित नभएको सरकारी अधिकारीहरुले बताएका छन्।

भुटानसहित चार देशले सम्झौता गरे पनि भुटानको सदनले उक्त सम्झौता अनुमोदन नगरेका कारण अहिलेको परीक्षण सञ्चालनमा भुटान सहभागी छैन।

तर नेपाल, भारत र बंगलादेशका अधिकारीहरुले भने भुटान पनि चाँडै यात्रु बस सञ्चालनमा सहभागी हुने विश्वास व्यक्त गरेका छन्।
