काठमाण्डाै । सर्वोच्च अदालतले हनुमानढोका दरबार क्षेत्र प्रवेश स्थलमा निर्माणाधीन रहेको क्रिस्टल भवन निर्माण तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले विश्व सम्पदा सूचीमा परेको क्षेत्रमा पुरातात्विक महत्वको डिजाइनबिनै भवन निर्माण कार्य भएको भन्दै भवन निर्माण हाल यथास्थितिमा रोक्न भनेको हो ।
विश्व सम्पदा सूचीमा रहेको क्षेत्रमा व्यापारिक भवन निर्माण गर्दा प्राचीन स्मारक ऐन पालना हुनुपर्ने र सोही नमूना अनुसार हुनुपर्नेमा उक्त भवन नदेखिएको जिकिर गरिएको छ । अदालतको यो आदेशपछि पुरातात्विक मापदण्ड पालना नभएका भवनहरु उक्त क्षेत्रमा निर्माण गर्न पाइने छैन ।
जनहित संरक्षण मञ्चका तर्फबाट प्रकाशमणि शर्माले भवन आधुनिक सिमेन्ट र ढुंगाको प्रयोग गर्दै पुरातात्विक क्षेत्रको मापदण्ड विपरीत निर्माण भएकाले रोक्न माग गर्दै बैसाख १० गते रिट दायर गर्नु भएको थियो ।