काँकरभिट्टा । बंगलादेश, भारत र नेपालविचको त्रिदेशीय बस सेवाको परिक्षण स्वरुप बंगलादेशबाट छुटेका दुईवटा बस नेपाल अाइपुगेका छन् ।
तीन देशका ५० जना सरकारी अधिकारीहरुलाई लिएर बंगलादेशको ढाकाबाट हिडेकाे गाडी पूर्वी नेपालकाे काँकडभिट्टा अाइपुगेकाे मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख टेकबहादुर अर्यालले जानकारी दिए ।

बस बंगलादेश, भुटान, इण्डिया, नेपाल यातायात सम्झौता अनुरुप सोमवार विहानबाट त्रिदेशीय अन्तर्राष्ट्रिय बस सेवाको परीक्षण सवारी शुरु भएको थियाे । बंगलादेश, भारत र नेपालले एक अर्कामा यातायात सेवालाई सहज बनाउनका लागी बंगलादेशबाट उक्त सेवाकाे परिक्षण सुरु गरिएकाे हाे ।
सर्वसाधारण यात्रुका लागि वातानुलित बसमा वाइफाइ लगायतका सबै अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपका सुबिधाहरु उपलव्ध हुनेछन् ।
बसको रुट ढाका–बंगलाबन्धु–सिलिगुडी, काँकडभिट्टा हुँदै काठमाडौं पुग्नेछ । ढाकाबाट अघि अाएकाे बसले काठमाडौंसम्म पुग्दा करीव १२ सय किलोमिटरको दूरी पार गर्नेछन् ।
चार देशले सीधा यात्रु बसको आवागमनका लागि सम्झौता गरे पनि अहिलेको परीक्षणमा भुटान सहभागी छैन । भुटानको सदनले उक्त सम्झौतालाई अनुमोदन गरिनसकेको हुनाले सहभागी नभएको बताइएको छ ।