काठमाडौं । विनाशकारी भूकम्प गएको आज तीन वर्ष पूरा भएको छ । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्र विन्दु भएर ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि वैशाख १३ गते र २९ गते सिन्धुपाल्चोक र दोलखा केन्द्रविन्दु भएर गएका ठूला परकम्पले १४ जिल्लामा ठूलो क्षति पुर्याएको थियो ।
भूकम्पमा झण्डै ९ हजार नागरिकले ज्यान गुमाएका थिए भने हजारौं घाइते भएका थिए । ७ लाख ६७ हजार घर भत्किएका थिए भने ७ सय ५३ वटा पुरातात्विक संरचनामा क्षति पुगेको छ । अहिलेसम्म पनि गोरखा भूकम्पलाई पछ्याएर परकम्प आउने क्रम रोकिएको छैन । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार अहिलेसम्म चार म्याग्निच्युड भन्दा माथिका ४५ हजार भन्दा धेरै परकम्प गइसकेका छन् र यो क्रम अझै चलिरहेको छ ।
तर भूकम्पपछिको पुनर्निर्माणको कामले खास्सै गति लिन सकेको छैन । भएका कामले पनि विभिन्न बहानामा गति लिन सकेका छैनन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार भूकम्पपछिको यो तीन वर्षमा लक्ष्यलिएको मध्ये पुनर्निर्माणको काम आधा मात्रै सकिएको छ । ५ वर्षे कार्यकाल रहेको प्राधिकरणले २८ महिना गुजारिसक्दा, काम सन्तोषजनक नभएको गुनासो सर्वत्र छ ।
कार्यकालको आधाउधि समय गुजारिसक्दा पनि प्राधिकरण कार्यविधि र बजेट अख्तियारीमै अड्किएको छ । यो तीन वर्षमा प्रधिकरणको काम शुन्य हैन तर सन्तोषजनक पनि त छैन । बांकी ३२ महिनामा त्रिपाल मुनी रहेका सवै पीडितलाई भरपर्दो ओतको व्यवस्था गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण वायु पंङखी घोडा जस्तै दौडन आवश्यक छ ।