काठमाण्डाैं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी सय दिनको २१ बुँदे कार्ययोजना सार्वजनिक गरेको छ ।
मन्त्रालयले आज पत्रकार सम्मेलन आयोजना गरी दूरसञ्चार सेवा र प्रविधिमा आएको परिवर्तन र विकासलाई आत्मसाथ गर्दै दूरसञ्चार ऐन, २०५३ मा समसामयिक सुधार गर्न उक्त मस्यौदालाई अन्तिम रुप दिनेलगायत १०० दिने कार्ययोजना सार्वजनिक गरेको हो ।
मन्त्रालयले १०० दिनभित्रमा दूरसञ्चार क्षेत्रको फ्रिक्वेन्सी वितरण प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन फ्रिक्वेन्सी नियमावली मस्यौदा तयार गर्ने भएको छ ।
त्यसैगरी हुलाक बचत बैंकलाई स्थानीय तहसम्म विस्तार गरी साना वचतकर्ताका लागि बैंकिङ पहुँच पु¥याउनका लागि हुलाक बैंकको रुपमा विकास गर्न अध्ययन सम्पन्न गरिने मन्त्रालयले जनाएको छ ।
चलचित्रबाट प्राप्त हुने आयलाई पारदर्शी बनाउन नेपालभरका सम्पूर्ण चलचित्र घरमा बक्स अफिस प्रणाली लागू गर्ने र विज्ञापन क्षेत्रलाई व्यवस्थित र उपलब्धिमूलक बनाउन आवश्यक विज्ञापनसम्बन्धी कानूनको मस्यौदा तयार गर्ने मन्त्रालयले जनाएको छ । विद्युतीय कारोबार, साइबर सुरक्षा जस्ता विषय समावेश गरी प्रविधिसम्बन्धी कानूनको मस्यौदालाई सरोकारवालासँग छलफल गरी १०० दिनभित्रमा अन्तिम रुम दिइने सचिव गुरुङले जानकारी दिनुभयो ।
सय दिनभित्र एनलग प्रणालीमा भइरहेको टेलिभिजन प्रसारणलाई डिजिटल प्रणालीमा रुपान्तरण गरी देशभरबाट एनलग प्रणाली बन्द गरिने छ ।