काठमाडौँ । मुलुकका विभिन्न क्षेत्रमा क्रियाशील श्रमिक वर्गको सामाजिक सुरक्षामा लगानी वृद्धि गर्न आवश्यक कानून निर्माण तथा उचित वातावरणका लागि सरकार संवेदनशील हुनुपर्नेमा जोड दिइएको छ ।
नेपाल ट्रेड युनियन काँग्रेस, ललितपुरले नयाँ वर्ष, लोकतन्त्र दिवश र श्रमिक दिवशको सन्दर्भ पारेर आज आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी वक्ताले सरकारले उत्पदानशील क्षेत्रमा लगानी वृद्धि गरी रोजगारी सिर्जना गर्ने र श्रमिकको सामाजिक सुरक्षामा विशेष ध्यान दिनुपर्ने सुझाउनुभएको हो ।
नेपाली काँग्रेसका नेता ओमकारप्रसाद श्रेष्ठले मुलुकको विकास र समृद्धिमा दक्ष जनशक्ति उत्पादन गरी उनीहरुलाई रोजगारमा केन्द्रीत गर्न अवको मजदुर आन्दोलनको कार्यदिशा हुनपर्ने विचार व्यक्त गर्नुभयो ।
सांसद धन खतिवडाले देशमा कृषि, पर्यटन, पूर्वाधार, यातायातलगायतका क्षेत्रको विकास गरिनुपर्ने बताउँदै यस क्षेत्रले रोजगारी बढाउने र बेरोजगार समस्या समाधान गर्न सहयोग गर्ने बताउनुभयो ।
युनियनका केन्द्रीय अध्यक्ष खिलानाथ दाहालले आफ्नो संस्थाले श्रमिक वर्गको सामाजिक विकासका लागि विसं २०५४ देखि माग गर्दै आएको सामाजिक सुरक्षाको विषयमा अहिले विधेयक बनेकोमा खुशी व्यक्त गर्नुभयो ।