काठमाण्डाैं । सरकारले यातायात व्यवसायीहरुलाई आन्दोलनका सबै कार्यक्रम स्थगित गरी वार्तामा आउन आह्वान गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव केदारबहादुर अधिकारीले यातायात व्यवसायीहरुलाई आन्दोलनका सबै कार्यक्रम स्थगित गरी वार्तामार्फत् समस्या समाधान गर्न आह्वान गर्नु भएको हो । उहाँले यातायात व्यवसायीहरुको समस्या समाधानका लागि उच्चस्तरीय यातायात सुधार समिति बनाउन सकिने प्रस्ताव पनि अघि सार्नु भयो ।
यातायात व्यवसायलाई व्यवस्थित बनाउन सरकारले यसलाई कम्पनी ऐन अन्तरगत संचालन गर्ने निर्णय लिएको पनि सचिव अधिकारीको स्पष्टोक्ति छ । शुक्रबार काठमाडौंमा आयोजित ‘सार्वजनिक यातायात क्षेत्रका देखिएको समस्याहरु’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले वार्तामार्फत् समस्या समाधान गरेर अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पार्नु भयो ।
मंगलबार सरकारले यातायात क्षेत्रमा देखिएको सिन्डीकेट अन्त्य गर्दै सबै यातायाता संघ, संस्थाको दर्ता र नविकरण कम्पनी ऐन अनुसार गर्ने निर्णय गरेपछि त्यसप्रति आपत्ति जनाउँदै व्यवसायीहरुले आन्दोलनको कार्यक्रम घोषणा गरेका छन ।