भक्तपुर । भक्तपुर थिमीको प्रख्यात जिब्रो छेड्ने जात्रामा बुद्धकृष्ण बागा श्रेष्ठले छैठौं पटक आफ्नो जिब्रो छेडाएका छन् । जात्रालुहरुको वाहवाहीबीच भक्तपुरको मध्यपुर थिमीस्थित बोडेमा आज बुद्धकृष्ण बाग श्रेष्ठले छैठौं पटक जिब्रो छेडाएका हुन् । मध्यपुर थिमी नगरपालिका ८ बोडेकै ४६ वर्षीय स्थानीय बुद्धकृष्णले करिव एक फिट लामो फलामको सुइरोले जिब्रो छेडाएका हुन् । प्रत्येक वर्ष वैशाख २ गते यही ठाउँंमा जिब्रो छेड्ने जात्रा हुने प्रचलन छ ।

जिब्रो छेडेपछि बाँस एवम् निगालोले बनेको अर्ध चन्द्राकार महाद्वीप (भ्यय) बोकेर बुद्धकृष्णलाई बोडे परिक्रमा गराइएको थियो । टोलटोलमा घुमाई स्थानीय पाँंचौं गणेशको रथलाई भागुटोल पु¥याएपछि सियो निकालिएको थियो । त्यसपछि महालक्ष्मीको माटोले जिब्रोको प्वाल टालिदिएर सियोलाई गणेश मन्दिरमा किलाले अड्काएर ठोकिएको छ । यसअघि जिब्रो छेडने बुद्धकृष्ण तीन दिनदेखि केही नखाई व्रत बसिरहेका थिए ।


