भद्रपुर । मेची बहुमुखी क्याम्पस भद्रपुरमा स्नातक तह चिया विषय अध्ययन गरेका ११ जना विद्यार्थीले एकैपटक कृषि प्राविधिक पदमा नाम निकालेका छन् ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले लामो समयको अन्तरालपछि खुलाएको चिया र कफी तर्फको कृषि प्राविधिक पदको लिखित तथा मौखिक दुबै परीक्षा पास गरी उनीहरू स्थायी नियुक्तिका लागि सिफारिसमा परेका हुन् । पहिलो ब्याचका १० जना र दोस्रो ब्याचको एक जना गरी जम्मा ११ जनाले नाम निकालेका हुन् ।
नाम निकाल्नेहरूमा पहिलो ब्याचका नगेन्द्र सुवेदी, प्रकाश श्रेष्ठ, देवेन्द्र पौडेल, तायामा राई, नवीन कोईराला, विवेक भन्डारी, अनन्त ढुङ्गाना, खगेन्द्र विष्ट, कुसुम भण्डारी, दिपक चौधरी र दोस्रो ब्याजकी लीला देवी सिवाकोटी रहेका छन् ।

अन्य केही विद्यार्थीहरू पनि लिखितमा पास भएता पनि मौखिकमा फालिएका थिए ।
केही समय अघिसम्म आफूले पढेको विषय आफ्नै क्षेत्रमा काम नलाग्ने देखेपछि चिया विषयमा स्नातक सकेका र चिया विषय अध्ययन गरिरहेका विद्यार्थीहरु निराश बनेका थिए ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशकले झापामा आयोजित एउटा कार्यक्रममा चिया विषय अध्ययन गरेर स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरु नेपालका चिया बगान तथा उद्योगहरुमा खपत हुन गाह्रो हुने बताएपछि ति विद्यार्थीहरु निराश बनेका थिए ।
तर १५ वर्ष भन्दा बढि समयपछि राष्ट्रिय चिया तथा कफी विकास बोर्डले चिया र कफी क्षेत्रका लागी भन्दै गत असाेज महिनामा कृषि प्राविधिक पदका लागी कर्मचारी आह्वान गरेपछि ती निराश चियाका बिद्यार्थीमा एकाएक हौसला र आत्मविश्वास जागेको छ ।
पढिसकेर के गर्ने भन्ने विषयले पिरोल्न थालेका बेला कृषि प्राविधिक पद र अन्य चियाका क्षेत्रमा पनि काम गर्न पाइने कुराले अहिले अन्य चिया अध्यनरत विद्यार्थीहरू पनि खुशी भएका छन् ।
म्याग्दीबाट २०६८ सालमा चिया बिषय अध्ययन गर्न झापा आएका नगेन्द्र सुबेदी भन्छन्, “पढिसकेर के गर्ने होला भन्ने अन्यौलमा थिएँ, तर अब नेपाली चिया सँगै आफ्नो भविष्य बनाउने एउटा खुड्किलो पाएको छु ।” उनी भन्छन्, “अब चियाको गुणस्तर बढाएर चिया निर्यातलाई प्रवर्द्धन गर्न सहयोग गर्न सक्ने ठाउँमा आएको छु, त्यसैले धेरै खुशी छु ।”
विर्तामोड झापाकी कुसुम भण्डारी पनि खुशी छिन् । खबरमञ्चसँग करा गर्दै उनले भनिन्, “के गर्ने होला अब भन्ने दोधारमा थिएँ, केहि सोच्न सकिरहेको थिइन, यत्रो खर्च गरेर पढियो, तर अब भविष्य सुनिस्चित भएको छ । अब चिया भित्रै छिरेर चियाको क्षेत्रलाई केही योगदान दिन सक्छु , आँफूले पढेका प्राविधिक सिप चियामा प्रयोग गर्न सक्छु, ।”
त्यस्तै अर्का विद्यार्थी नविन कोइरलाले पनि कृषि प्राविधिकमा नाम निक्लिएसँगै आफ्नो चियाको क्षेत्रमा केही गर्ने लक्ष्य पूरा गर्ने बाटो खुला भएको बताए । उनले भने, “अब सिकेका कुरा व्यवहारमा लागु गर्न पाउने भयौं, रोजगारीसँगै भविष्य पनि सुनिस्चित भयो ।”
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको मेची बहुमुखी क्याम्पसमा २०६८ साल देखी चिया बिषयको स्नातक तह अध्यापन गराउन थालिएको थियो ।
बिगत वर्ष देखी भर्ना हुन आउने विद्यार्थी नभइरहेका बेला राष्ट्रिय चिया तथा कफी विकास बोर्डले खुलाउने यस्ता दरवन्दीका कारण चिया विषयमा बिद्यार्थी आकर्षित हुनेमा आफू बिश्वस्त रहेको मेची बहुमुखी क्याम्पस, विज्ञान संकायका सहायक क्याम्पस प्रमुख लक्ष्मी प्रसाद निराैलाले बताए ।
साथै यसवर्ष देखि चियालाइ एेच्छिक विषय राख्न मिल्ने गरि कम शूल्कमा बिएससी इन टि साइन्स पनि सुरू गर्न लागिएको उनले जानकारी दिए ।