काठमाडौँ । नयाँ वर्षको पहिलो दिनको अवसर पारेर ‘मेरो संकल्प अधिकारसहितको कर्तव्य’ मूल नाराको कार्यक्रम घोषणा गरिएको छ ।
सांसद गगनकुमार थापाले घोषणा गर्नुभएको कार्यक्रमको शताब्दी पुरुष सत्यमोहन जोशीले आज ज्ञानेश्वरमा उद्घाटन गर्नुभयो । महिनामा एक दिन सामाजिक कामका लागि छुट्याउन कार्यक्रम अघि सारिएको पूर्व स्वास्थ्यमन्त्रीसमेत रही सक्नुभएका सांसद गगन थापाले सुनाउनुभयो ।
अभियानअन्तर्गत प्रत्येक महिनाको पहिलो शनिबार सरसफाइ कार्यक्रम गरिने उहाँले बताउनुभयो । संस्कृतिविद् जोशीले अधिकार मागसँगै कर्तव्य पालना गर्नुपर्नेमा जोड दिनुभयो ।
रुद्रमती सफाइ अभियानको २१२ हप्ताको कार्यक्रम पनि सोही कार्यक्रममा समाहित भएको रुद्रमती सरोकार समाजको उपाध्यक्ष रोहित गिरीले राससलाई जानकारी दिनुभयो ।
ज्ञानेश्वरबाट चाबहिलसम्म भएको जनचेतनामूलक सफाइ र्यालीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, लुम्बिनी विकास बैंक, काठमाडौँ उपत्यका विकास प्राधिकरण, ट्यांकर एशोसियशन नेपाललगायत संस्थाको सहभागिता थियो । कार्यक्रमका लागि प्राधिकरणले फोहर उठाउन गाडीको व्यवस्था गरेको थियो भने ट्यांकर एशोसियशनले सफा गरेको सडकमा पानी हालेका थिए ।
अभियानमा प्रदेशसभा सदस्यत्रय राधा घले, नरोत्तम वैद्य र न्हुच्छेनारायण श्रेष्ठ, रुद्रमती समन्वय समितिका संयोजक पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, काठमाडौँ महानगरपालिका वातावरण विभागका प्रमुख हरि कुँवर, महानगर–३० का अध्यक्ष दलबहादुर कार्की, वडा नं ९ का अध्यक्ष रामकृष्ण श्रेष्ठलगायतको सक्रियता थियो ।
सफाइमा तीन मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सांसद थापाले आगामी जेठ ५ गते शनिबार कमलपोखरी परिसरमा सफाइ गरी कवि गोष्ठी, सांगीतिक कार्यक्रमलगायत गरिने जानकारी सो अवसरमा दिनुभयो ।