भक्तपुर । भक्तपुरको सल्लाघारीमा सञ्चालन भइरहेको चौथो भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेलामा तीन करोडभन्दा बढीको व्यापार भएको छ ।
नयाँ वर्षको अवसरमा गत चैत २३ गतेदेखि सञ्चालन भइरहेको मेलामा हालसम्म ६० हजारभन्दा बढीले अवलोकन गरेको र दैनिक उपभोग्य सामग्रीका साथै विभिन्न मनोरञ्जनात्मक कार्यक्रममा तीन करोडभन्दा बढीको कारोबार भएको आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिनुभयो ।
मेलामा २०० भन्दा बढी दैनिक उपभोग्य सामग्रीको स्टल राखिएको छ भने विभिन्न मनोरञ्जनात्मक कार्यक्रम, बाल उद्यान, रोटीपिङ, मारुती सर्कस, कोलम्बस, जादु, सर्कस, ब्रेक, भूत चिडिया घर, बालबालिकाको खेल सामाग्री राखिएको छ ।
दैनिक दर्जनौँ राष्ट्रिय कलाकारको प्रस्तुतिका कारण पनि मेलाको रौनक बढेको महतले बताउनुभयो । मेलामा तराई क्षेत्रमा खेलिने प्रशिद्ध कुस्ती प्रतियोगिताको समेत आयोजना गरिएको छ भने राष्ट्रिय नृत्य प्रतियोगिताको समेत आयोजना गरिएको छ ।