विर्तामोड । पूर्वी नेपालमा बसोबास गर्न आदिवासी समूदायले नयाँ बर्षको अवसरमा सिरुवा पर्व धुमधामका साथ मनाइरहेका छन्। राजवंशी, धिमाल, ताजपुरिया लगायतका आदिवासी समूदायले बेशाख १, २ र ३ गते पानी, हिलो र रंग छ्यापछ्याप गरेर सिरुवा सालिन्ने मनाउँछन्।
भिडियोः
के केटाकेटी, के युवा, के बयस्क, के बृद्ध बृद्धा, सबै पानीले हिलाम्मे भएका छन्। सिरुवाको दोस्रो दिन कादो अर्थात हिलो सिरुवा उनीहरुले भोलि मनाउँदैछन्। आदिवासी समूदायका बाजा गाजा सहित नयाँ सालको आगमन संगै पूर्वी नेपालका आदिवासी समूदायका मानिसहरुले सिरुवा पर्व धुमधामका साथ मनाइरहेका छन्।
झापा, मोरङ र सुनसरीमा बसोबास गर्ने राजबंशी, धिमाल, ताजपुरिया लगायतका आदिबासी समूदायले मनाउने सिरुवामा पानी, हिलो र रंग छ्यापाछ्याप गर्ने परम्परा रहेको छ।

‘अब गर्मीको मौसम आएका कारण पानीले शीतलता प्रदान गर्ने विश्वास छ। हामी प्रकृतिका उपज हौं त्यसैले माटोसंग हाम्रो नाता गाँसिएको छ भनेर दोस्रो दिन हिलोसंग खेल्ने प्रचलन छ। र अन्तिम दिन रंग दलेर रमाउने प्रचलनका साथ सिरुवा मनाउने चलन छ,’ झापा घैलाडुब्बाका प्रताप राजवंशीले भने।

सिरुवा पर्वकै अवसर पारेर युवा युवतीको विहेको साईत समेत जुराइन्छ।
आफ्नै प्रयासमा संस्कृति जोगाउने प्रयास गर्दै आएका यी आदिवासीहरु सरकारी स्तरबाट समेत संरक्षणको प्रयास थालिनु पर्नेमा जोड दिन्छन्।