काठमाण्डौं । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्ग खन्ने काम सकिएको छ ।
मेलम्ची खानेपानी आयोजनाले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोजनाको सुरुङ खन्ने काम सकिएको औपचारिक जानकारी गराएको हो । अन्तिम चरणको सिन्धु–ग्याल्थुम खण्ड ७ दशमलव ५ किलोमिटर सूरुङ बे्रक थ्रू भएसँगै आयोजनाको सुरुङ निर्माण कार्य मंगलबारबाट सकिएको हो ।
आयोजनाको सुरुङ निर्माणको काम ३ खण्डमा विभाजन गरेर सुरु गरिएको थियो । आगामी विहिबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ब्रेक थ्र्रू कार्यक्रम आयोजना गर्न लागिएको पनि आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले जानकारी दिनु भयो ।
आयोजनाले २६ किलोमिटर लामो सुरुङ खन्ने कामलाई ऐतिहासिक उपलब्धि भनेको छ । पत्रकार सम्मेलनमा बोल्दै खानेपानी तथा सरसफाई मन्त्री विना मगरले दसैं अघि नै मेलम्चीको पानी काठमाडौंको घरघरमा उपलब्ध गराउने दावी पनि गर्नु भयो ।
उहाँले काठमाडौं उपत्यका भित्र मेलम्चीको पानी घरघरमा पु¥याउने गरी पाईनलाईन विस्तारको कामलाई पनि तीव्रता दिइएको बताउनु भयो । मन्त्री मगरले कार्यभार सम्हाले लगत्तै आयोजनाको स्थलगत निरीक्षण गरी दसैं अघि नै मेलम्चीको पानी काठमाडौंको घरघरमा आउने व्यवस्था गर्न सम्बन्धित निकायलाई सचेत गराउनु भएको थियो ।
कार्यक्रममा हालसम्म आयोजना निर्माणका लागि २४ अरव २२ करोड खर्च भएको पनि जानकारी दिइएको छ ।