काठमाण्डाैं । फागुन पहिलो साता चुडामणि उप्रेती ‘गोरे’ले ल्याएको भनिएको ३३ किलो सुन त्रिभुवन विमानस्थलबाटै बाहिरिएको खुलेको छ ।
सोही प्रकरणमा पक्राउ परेकाहरुको बयानका आधारमा उक्त सुन दुबईबाट त्रिभुवन विमानस्थल हुँदै बाहिरिएको र मुख्य तस्करसम्म पुग्न नपाउँदै गायव भएको बताइएको छ ।
३३ किलो सुन तस्करीमा चेनमा जोडिएका ११ जनालाई गृह मन्त्रालयका सह–सचिव इश्वरराज पौडेल नेतृत्वको छानविन समितिले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
गृह मन्त्रालय स्रोतका अनुसार पक्राउ पर्नेहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का नेता भुजुङ गुरुङसहित बालकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपाल कुमार श्रेष्ठ, दोराम खत्री, सम्बिर प्रसाद तोलाङ्गे, हेमन्त गौतम, ‘तक्लु’ भन्ने पुण्यप्रसाद लामा, विरेन्द्रमान श्रेष्ठ, लाल बहादुर मगर, राजु महर्जन र भारतीय नागरिक महाविर गोल्यान रहेका छन् ।