काठमाण्डाैं । आदिवासी, जनजाति समूदायले आफूहरुको सांस्कृतिक पर्वमा दिँदै आएको विदा कटौति गर्ने निर्णय फिर्ता लिन सरकारलाई दवाव दिन सुरु गरेका छन ।
नेपाल आदिवासी, जनजाति महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफूहरुको सांस्कृतिक पर्वमा दिँदै आएको सार्वजनिक विदा कटौति गर्ने निर्णय तत्काल फिर्ता लिन पुनः माग गर्दै दवाव आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
आफूहरुमाथि प्रहार गर्ने उद्देश्यका साथ ठूलो संघर्षबाट प्राप्त भएको सांस्कृतिक पर्वमा सार्वजनिक विदा दिने निर्णय कटौति गर्ने निर्णय फिर्ता लिन सरकारलाई दवाव दिन आन्दोलनको कार्यक्रम घोषणा गर्नु परेको महासंघका अध्यक्ष जगतबहादुर बरामले जानकारी दिनु भयो । महासंघले सडक विस्तारको नाममा आफूहरुको सांस्कृतिक सम्पदामाथि अतिक्रमण नरोके कडा प्रतिवादमा उत्रने चेतावनी समेत दिएको छ ।
आन्दोलनका कार्यक्रम अनुसार चैत्र २७ गतेदेखि बैशाख ३ गतेसम्म प्रधानमन्त्री केपी शर्मा ओली तथा सबै प्रदेशका मुख्यमन्त्रीहरुलाई आफूहरुको सांस्कृतिक पर्वमा विदा कटौति गर्ने सरकारको निर्णय फिर्ता लिन ज्ञापन पत्र बुझाउने, त्यसपछि देशभर विरोध, प्रर्दशन, धर्ना लगायतको कार्यक्रम तय गरिएको छ । माग तत्काल सम्बोधन नभए कडा आन्दोलनमा जान बाध्य हुने महासंघको चेतावनी छ ।