काठमाण्डाैं । खानी तथा भूगर्भ विभागले १२६ खानीलाई उत्खननका लागि अनुमति प्रदान गरेको छ ।
विभागले दिएको जानकारीअनुसार चालू आर्थिक वर्षको आठ महिनामा मुलुकभर खनिज पदार्थको अनुसन्धान तथा अन्वेषण गरी सो खानीलाई उत्खननका लागि स्वीकृत प्रदान गरेको हो ।
मुलुकको आर्थिक विकास र समृद्धिका लागि महत्वपूर्ण क्षेत्रका रुपमा लिइएको खनिज पदार्थमध्ये सबैभन्दा धेरै चुनढुङ्गा ४९ खानीलाई उत्खननका लागि अनुमति प्रदान गरेको छ ।
यस्तै अनुमति प्रदान गरिएकामा टुर्मा्लिन टल्क १४, कोइला १४, टुर्मा्लिन १२, क्वार्ज चार, काइनाइट आठ, मार्वल तीन, रातोमाटो तीन, फलाम दुई, जिंक एक, क्वार्जजाइट १०, म्याग्नेसाइट एक, डोलोमाइट एक र क्याल्साइट एक खानी रहेका छन् ।
खनिज सम्पदा महाशाखाका प्रमुख रामप्रसाद घिमिरेले चुनढुङ्गा उत्खननका लागि धेरै आवेदन परेको र सोहीअनुसार उत्खननका लागि अनुमति प्रदान गरेको जानकारी दिए ।